शुक्रवार, श्रावण १ २०८३
काठमाडौं, साउन १ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा ले अनुसन्धान केन्द्रहरू विश्वविद्यालय र राष्ट्रका आधारस्तम्भ भएकाले उत्कृष्ट अनुसन्धानका लागि अनुकूल वातावरण निर्माण गरिने बताएका छन्।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास–CNAS) को ५५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपकुलपति थापाले त्रिविका चारवटै अनुसन्धान केन्द्रमा गुणस्तरीय अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिइने बताए। अनुसन्धान र नवप्रवर्तनमार्फत नयाँ सम्भावनाहरू उजागर हुने उल्लेख गर्दै उनले उपलब्ध भौतिक, आर्थिक तथा मानवीय स्रोत–साधनको प्रभावकारी व्यवस्थापन गरी विज्ञ प्राध्यापक तथा अनुसन्धानकर्मीको सहकार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त अवसरमा उनले अनुसन्धान केन्द्र स्थापना गरी देश, समाज र समग्र प्राज्ञिक क्षेत्रमा योगदान पुर्याउने अग्रज प्राध्यापकहरूको स्मरणसमेत गरे। वि.सं. २०२९ साल साउन १ गते नेपाल तथा एसियाली अध्ययन संस्थान (INAS) का रूपमा स्थापना भएको संस्था वि.सं. २०३४ भदौ २३ गते नेपाल तथा एसियाली अध्ययन केन्द्र (CNAS) मा रूपान्तरण भएको थियो। भाषा, संस्कृति, कला, समाज, परराष्ट्र लगायतका सामाजिक विषयमा अध्ययन–अनुसन्धान गर्दै आएको सिनासलाई मुलुकको महत्वपूर्ण ‘थिंक ट्याङ्क’का रूपमा लिइन्छ।
कार्यक्रममा सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्की ले अनुसन्धान तथा प्राज्ञिक क्षेत्रमा सिनासको योगदानबारे चर्चा गर्दै अनुसन्धान केन्द्रहरूलाई नीतिगत मार्गदर्शन, पर्याप्त आर्थिक तथा प्रशासनिक सहयोग, शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अधिकार र विद्यावारिधि (पीएचडी) उपाधि प्रदान गर्ने अनुमति उपलब्ध गराइदिन उपकुलपतिसमक्ष आग्रह गरे।
वार्षिकोत्सव कार्यक्रममा पूर्व कार्यकारी निर्देशक प्रा.डा. प्रेमकुमार खत्री र प्रा.डा. निर्मलमान तुलाधर, Indian Council for Cultural Relations (ICCR) का अध्यक्ष प्रा.डा. अनिलकुमार महापात्रा, सेडा (CEDA) का कार्यकारी निर्देशक प्रा.डा. अर्जुन बराल, रिकास्ट (RECAST) की कार्यकारी निर्देशक प्रा.डा. मीना राजभण्डारी, त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. विष्णुप्रसाद पाण्डे, जापानको हिरोसिमा विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक डा. केशवलाल महर्जन, तथा प्राध्यापक नोबेलकिशोर राई र खगेन्द्रप्रसाद लुइँटेल लगायतले अनुसन्धान क्षेत्रको गौरवपूर्ण इतिहासलाई निरन्तरता दिन शुभकामना व्यक्त गरेका थिए।
हाल सिनासमा दुईवटा अन्तर्राष्ट्रिय र एकवटा राष्ट्रिय अनुसन्धान परियोजना सञ्चालनमा रहेका छन्।