Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालय शिक्षामा सुधारको प्रयास : कक्षा ५ सम्म परीक्षा अन्त्य, देशभर लेटरग्रेडिङ प्रणाली लागू

विद्यालय शिक्षामा सुधारको प्रयास : कक्षा ५ सम्म परीक्षा अन्त्य, देशभर लेटरग्रेडिङ प्रणाली लागू

  • 210
    SHARES

  • विद्यालय शिक्षामा सुधारको प्रयास : कक्षा ५ सम्म परीक्षा अन्त्य, देशभर लेटरग्रेडिङ प्रणाली लागू

    काठमाडौं । सरकारले विद्यालय शिक्षाको मूल्यांकन प्रणालीमा व्यापक सुधार गर्दै नयाँ लेटरग्रेडिङ निर्देशिका लागू गरेको छ। निर्देशिकासँगै अब देशभरका सबै विद्यालयमा एउटै लेटरग्रेडिङ प्रणाली लागू हुने भएको छ भने कक्षा ५ सम्म लिखित परीक्षामार्फत मूल्यांकन गर्ने व्यवस्था हटाइएको छ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीमा परीक्षाका कारण सिर्जना हुने मनोवैज्ञानिक दबाब कम गर्दै निरन्तर सिकाइ र समग्र मूल्यांकनलाई प्राथमिकता दिने उद्देश्यले नयाँ निर्देशिका जारी गरेको हो। यसअघि कक्षा ९ सम्म विद्यालयले आफ्नै ढंगले ग्रेडिङ प्रणाली अपनाउँदै आएका थिए भने कक्षा १० र १२ मा मात्र राष्ट्रिय परीक्षा बोर्डको लेटरग्रेडिङ प्रणाली लागू थियो।

    निर्देशिकाअनुसार अब कक्षा ५ सम्म विद्यार्थीको मूल्यांकन लिखित परीक्षाभन्दा निरन्तर कक्षागत गतिविधि, सहभागिता, व्यवहार, परियोजना तथा सिकाइ उपलब्धिका आधारमा गरिनेछ। कक्षा ६ देखि माथि भने निर्धारित मापदण्डअनुसार मूल्यांकन हुनेछ।

    त्यस्तै, विद्यालय तहमा एक शैक्षिक घण्टीको अवधि ६० मिनेट कायम गरिएको छ। विद्यालयले वार्षिक कार्यघण्टा नघट्ने गरी समय व्यवस्थापन गर्न सक्नेछन् भने अतिरिक्त सिकाइ गतिविधिलाई पनि वार्षिक कार्यघण्टामा समावेश गर्न सकिने व्यवस्था गरिएको छ।

    निर्देशिकाले परीक्षामा सहभागी हुन विद्यार्थीको न्यूनतम ७५ प्रतिशत हाजिरी अनिवार्य गरेको छ। साथै ३५ देखि १०० अंकसम्मको उपलब्धिलाई ८ वटा लेटरग्रेडमा वर्गीकरण गरी देशभर एउटै मापदण्डअनुसार मूल्यांकन गरिने व्यवस्था गरिएको छ।

    शिक्षक तथा शिक्षा क्षेत्रका सरोकारवालाले नयाँ व्यवस्थाले विद्यार्थीमैत्री मूल्यांकन प्रणाली विकास हुने, परीक्षाको अनावश्यक दबाब घट्ने र सिकाइको गुणस्तर सुधारमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरेका छन्।

    images
    सोमवार, श्रावण ४ २०८३०९:४९:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार