Jul 27 2026 | २०८३, श्रावण ११ गते

राष्ट्रिय पाठ्यक्रम पुनरावलोकनमा देशव्यापी परामर्श सुरु

राष्ट्रिय पाठ्यक्रम पुनरावलोकनमा देशव्यापी परामर्श सुरु

  • 197
    SHARES

  • राष्ट्रिय पाठ्यक्रम पुनरावलोकनमा देशव्यापी परामर्श सुरु

    काठमाडौं, साउन २० — नेपालको विद्यालय शिक्षालाई समयानुकूल, समावेशी र भविष्यमुखी बनाउने उद्देश्यसहित राष्ट्रिय पाठ्यक्रम प्रारूप (National Curriculum Framework–NCF) पुनरावलोकन प्रक्रियालाई देशव्यापी परामर्शमार्फत अगाडि बढाइने भएको छ।

    राष्ट्रिय पाठ्यक्रम प्रारूप पुनरावलोकन कार्यदलको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएसँगै पुनरावलोकन प्रक्रियाले नयाँ चरणमा प्रवेश गरेको हो। कार्यक्रममा हालसम्म सम्पन्न भएका कार्य, प्राप्त सुझाव, पुनरावलोकनको वर्तमान अवस्था, आगामी समयरेखा तथा अब गरिने मुख्य कार्यहरूबारे साझा समझदारी बनाइएको छ।

    1784555665801.jpg

    पुनरावलोकनलाई प्रभावकारी बनाउन कार्यलाई १२ वटा विषयगत क्षेत्रमा विभाजन गरिएको छ। साथै शिक्षा क्षेत्रका विज्ञ, अभ्यासकर्ता, स्रोत व्यक्ति तथा सरोकारवालालाई समेट्दै कार्यसमूहलाई विस्तार गरी करिब ७० सदस्यीय बनाइएको छ। यसले पाठ्यक्रमलाई नीतिगत तहमा मात्र सीमित नराखी विद्यालय, कक्षा, समुदाय र व्यवहारिक अनुभवका आधारमा समेत समीक्षा गर्ने अपेक्षा गरिएको छ।

    कार्यदलका अनुसार अनलाइन माध्यमबाट सुझाव संकलनको प्रक्रिया निरन्तर जारी रहनेछ। आगामी केही सातामा प्रत्येक विषयगत क्षेत्रमा सम्बन्धित अध्ययन, अनुसन्धान, साहित्य तथा अभ्यासहरूको समीक्षा गरिनेछ। त्यसपछि देशका विभिन्न प्रदेशमा क्षेत्रीय भ्रमण, प्रदेशस्तरीय परामर्श, छलफल तथा सरोकारवालासँग प्रत्यक्ष संवाद सञ्चालन गरिने कार्यक्रम रहेको छ।

    कार्यदलले नेपालको भावी शिक्षा प्रणाली निर्माणमा विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय नेतृत्व, समुदाय, विज्ञ तथा विभिन्न भूगोल र सामाजिक परिवेशका नागरिकको अनुभव र सुझावलाई समेट्ने लक्ष्य लिएको जनाएको छ। पुनरावलोकन प्रक्रियालाई तल्लो तहबाट माथि आउने अवधारणामा आधारित सहभागितामूलक बनाइने पनि स्पष्ट पारिएको छ।

    हालको चरण अन्तिम निष्कर्ष निकाल्नेभन्दा पनि विभिन्न प्रश्न, अनुभव र प्रमाणमा आधारित अध्ययनलाई समेट्ने चरण भएको कार्यदलको भनाइ छ। प्राप्त सुझावहरूको विश्लेषणपछि कार्यान्वयनयोग्य र समयानुकूल राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार गरिने लक्ष्य राखिएको छ।

    यद्यपि, कार्यदलले धेरै व्यक्तिको सहभागितामात्रै सफल पुनरावलोकनको आधार नहुने उल्लेख गर्दै हजारौँ सुझावलाई स्पष्ट प्राथमिकता, प्रमाण र कार्यान्वयनयोग्य निर्णयमा रूपान्तरण गर्नु नै सबैभन्दा ठूलो चुनौती हुने जनाएको छ।

    images
    सोमवार, श्रावण ४ २०८३०७:४५:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार