सोमवार, श्रावण ४ २०८३
काठमाडौं, साउन ४ — नेपाल राहत शिक्षक राष्ट्रिय समितिले राहत शिक्षक तथा अस्थायी प्रकृतिका शिक्षक–कर्मचारीहरूलाई ‘अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारी महासंघ’ दर्ता तयारीमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेको छ।
सोमबार जारी प्रेस विज्ञप्तिमार्फत समितिले आफूलाई राहत शिक्षकहरूको मूल समिति भन्दै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट भ्रामक सूचना फैलाउने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिले यस्ता गतिविधिले राहत शिक्षकहरूको साझा हक, हित र अधिकार प्राप्तिको अभियानलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ।
समितिका अनुसार राहत शिक्षक तथा अस्थायी प्रकृतिका शिक्षक–कर्मचारीहरूको साझा हक, हित, पेशागत सुरक्षा र सम्मान सुनिश्चित गर्ने उद्देश्यले ‘अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारी महासंघ’ दर्ता गर्ने तयारी तीव्र रूपमा अघि बढिरहेको छ।
यसै सन्दर्भमा समितिले सम्पूर्ण राहत शिक्षक तथा अस्थायी प्रकृतिका शिक्षक–कर्मचारीलाई कुनै पनि भ्रम, अफवाह वा भ्रामक प्रचारमा नपरी महासंघ दर्ता तथा संगठन विस्तार अभियानमा सक्रिय रूपमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।
विज्ञप्तिमा साझा उद्देश्य प्राप्तिका लागि विभाजनभन्दा एकता आवश्यक रहेको उल्लेख गर्दै अधिकार सुनिश्चित गर्न सबै शिक्षक तथा कर्मचारीलाई जिम्मेवार, संयमित र संगठित भएर महासंघ निर्माण अभियान सफल बनाउन आह्वान गरिएको छ।
साथै, भ्रम फैलाउने, संगठनलाई कमजोर बनाउने तथा आन्दोलनलाई विभाजित गर्ने गतिविधि निरन्तर भएमा आवश्यक निर्णय लिन बाध्य हुने चेतावनी पनि समितिले दिएको छ।
उक्त विज्ञप्तिमा नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु खत्री र महासचिव जीवन तिमल्सिनाको हस्ताक्षर रहेको छ।
