Jul 27 2026 | २०८३, श्रावण ११ गते

ओप्सले एसईई २०८२ का उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई गर्‍यो सम्मान

ओप्सले एसईई २०८२ का उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई गर्‍यो सम्मान

  • 160
    SHARES

  • ओप्सले एसईई २०८२ का उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई गर्‍यो सम्मान

    काठमाडौं, साउन ३ — अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, विद्यालय, शिक्षक तथा दीर्घसेवी कर्मचारीलाई सम्मान गरेको छ। राजधानीको शेषमतीस्थित दियालो फुडल्यान्डमा आयोजित ‘बधाई तथा सम्मान कार्यक्रम–२०८३’ मा ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी, उत्कृष्ट विद्यालय, विषयगत उत्कृष्ट शिक्षक तथा दीर्घकालीन सेवा गर्ने कर्मचारीलाई सम्मान गरिएको हो।

    1784607871857.jpg

    कार्यक्रमको उद्घाटन तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो। उहाँले विद्यार्थी नै राष्ट्रको भविष्य भएकाले गुणस्तरीय शिक्षाको विकासमा स्थानीय सरकार संस्थागत विद्यालयसँग सहकार्य गर्न सदैव तयार रहेको बताउनुभयो।

    शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख सुरेश कुमार जोशीले उत्कृष्ट नतिजा विद्यार्थी, अभिभावक र विद्यालयबीचको सहकार्यको परिणाम भएको उल्लेख गर्दै अब नैतिक, व्यवहारिक र जीवनोपयोगी शिक्षामा पनि जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। तारकेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकीले नगरभित्रका सरकारी तथा निजी विद्यालयको शैक्षिक गुणस्तर सुदृढ बनाउन योजनाबद्ध रूपमा काम भइरहेको जानकारी दिनुभयो।

    IMG-20260720-WA0006~2.jpg

    कार्यक्रमका अध्यक्ष तथा ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले संस्थागत विद्यालयहरूले गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगरेको र एसईईको उत्कृष्ट नतिजाले त्यसको पुष्टि गरेको बताउनुभयो। उहाँले विद्यार्थीको सफलतामा शिक्षक र कर्मचारीको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा सिर्जनात्मक र नवप्रवर्तनमुखी शिक्षामा केन्द्रित कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

    कार्यक्रममा एसईई २०८२ मा ४.०० जीपीए प्राप्त गर्ने १५ विद्यालयका विद्यार्थीलाई खादा, टोपी र सम्मानपत्रसहित सम्मान गरिएको थियो। साथै विद्यार्थी सङ्ख्याका आधारमा दुई समूहमा विभाजन गरी औसत जीपीएका आधारमा उत्कृष्ट विद्यालयलाई पनि पुरस्कार प्रदान गरिएको थियो। ५० जनासम्म विद्यार्थी भएका विद्यालयतर्फ मन्जरी सेकेन्डरी स्कुल प्रथम, नर्थ प्वाइन्ट एकेडेमी द्वितीय र विभूति विद्या मन्दिर तृतीय भएका छन्। ५० भन्दा बढी विद्यार्थी भएका विद्यालयतर्फ हिम रश्मी हाई स्कुल प्रथम, प्रारम्भा वर्ल्ड स्कुल द्वितीय तथा एन्जल्स हार्ट स्कुल तृतीय घोषित भए।

    IMG-20260720-WA0012~2.jpg

    त्यसैगरी विद्यार्थीलाई विषयगत रूपमा उत्कृष्ट नतिजा दिलाउने शिक्षकहरूलाई पनि विशेष सम्मान गरिएको थियो। अंग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक, एकाउन्ट, वातावरण विज्ञान, जनसंख्या तथा ऐच्छिक गणितलगायत विषयका उत्कृष्ट शिक्षकहरूलाई सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

    कार्यक्रमको अर्को आकर्षण ‘ओप्स दीर्घ सेवा पदक’ वितरण रहेको थियो। ओप्समा आबद्ध विद्यालयमा लामो समयदेखि सेवा गर्दै आएका २४ जना शिक्षक तथा प्रशासनिक कर्मचारीलाई दीर्घ सेवा पदक र सम्मानपत्र प्रदान गरिएको थियो।

    IMG-20260720-WA0000~2.jpg

    राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा ओप्सका संयोजक रबिन बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो। सृजना ज्ञान सागर विद्यालयका विद्यार्थीहरूले स्वागत गीत तथा न्यू एरा एकेडेमीका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। समारोहमा प्याब्सन केन्द्रका उपाध्यक्ष थकिनकुमार गुरुङ, प्याब्सन बागमती प्रदेशका अध्यक्ष मुरारी प्रकाश सन्जेल, प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्ट, शिक्षा क्षेत्रका विभिन्न पदाधिकारी, विद्यालय सञ्चालक, शिक्षक, अभिभावक, सञ्चारकर्मी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    1784607970709~2.jpg

     

    images
    मंगलवार, श्रावण ५ २०८३१०:०३:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार