मंगलवार, श्रावण ५ २०८३
काठमाडौं, ५ साउन — शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटका क्रममा नेपाल–अमेरिका सम्बन्ध, शिक्षा तथा खेलकुद क्षेत्रमा द्विपक्षीय सहकार्य, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास, सीपमूलक शिक्षाको प्रवर्द्धन तथा आगामी सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
छलफलमा अमेरिकाले नेपालमा लामो समयदेखि शिक्षा क्षेत्रमा पुर्याउँदै आएको सहयोगको समीक्षा गर्दै आगामी दिनमा सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा पनि सहमति भएको थियो। अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत सञ्चालन भएका अर्ली ग्रेड रिडिङ एन्ड लर्निङ कार्यक्रम तथा शिक्षा कलेजहरूमा उपलब्ध सहयोगको समेत स्मरण गरिएको थियो।

भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र अमेरिकाबीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे। उनले वर्तमान सरकारले शिक्षा क्षेत्रमा व्यापक सुधार अघि बढाइरहेको उल्लेख गर्दै विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन भइरहेको र सैद्धान्तिकभन्दा व्यवहारिक तथा सीपमूलक शिक्षामा जोड दिइएको बताए।
मन्त्री पोखरेलले विद्यालय तहदेखि नै खेलकुदलाई पाठ्यक्रममै समावेश गर्ने तयारी भइरहेको जानकारी दिँदै विद्यालयहरूको भौतिक पूर्वाधारको मूल्याङ्कन सुरु गरिएको र त्यसकै आधारमा आवश्यकताअनुसार बजेट विनियोजन गरिने बताए।
उनले सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, शिक्षकको पेसागत क्षमता अभिवृद्धि, विद्यालय स्वास्थ्य तथा पोषणलगायतका क्षेत्रमा अमेरिकी सरकारसँग थप सहकार्य गर्न सकिने धारणा पनि राखे। कार्यवाहक राजदूत अर्बमले नेपाल सरकारले शिक्षा तथा खेलकुद क्षेत्रमा अघि सारेका सुधारका कार्यक्रमप्रति अमेरिकी सरकार जानकार रहेको उल्लेख गर्दै आवश्यक सहयोग र सहकार्य गर्न अमेरिका सकारात्मक रहेको बताए। उनले सार्वजनिक विद्यालयको गुणस्तरीय शिक्षा सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा अमेरिकी सरकारको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे।
मन्त्रालयका अनुसार भेटवार्ताले नेपाल–अमेरिका शिक्षा साझेदारीलाई थप मजबुत बनाउने तथा विद्यालय शिक्षा सुधार, शिक्षक क्षमता विकास, डिजिटल शिक्षा र प्राविधिक शिक्षाका क्षेत्रमा सहकार्य विस्तार गर्ने आधार तयार गरेको छ।