बुधवार, श्रावण ६ २०८३
काठमाडौं, साउन ६ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ६७औँ वार्षिक दिवसका अवसरमा विश्वविद्यालयमा २५ वर्ष निरन्तर सेवा गरेका १४२ शिक्षक र ४३ कर्मचारी गरी १८५ जनालाई दीर्घसेवा पदक तथा सम्मानपत्र प्रदान गरिएको छ।
त्रिवि शिक्षक तथा कर्मचारी सेवा सम्बन्धी नियम, २०५० को दफा ४५ बमोजिम प्रत्येक वर्ष वार्षिकोत्सवका अवसरमा प्रदान गरिने उक्त सम्मान यस वर्ष पनि वितरण गरिएको हो। त्रिवि सेवा आयोगका अध्यक्ष किशोर थापाले दीर्घसेवा पदक तथा उपकुलपति प्रा. डा. भोला थापाले सम्मानपत्र प्रदान गर्नुभयो।

त्रिभुवन स्मृति भवनमा आयोजित कार्यक्रममा उपकुलपति प्रा. डा. भोला थापाले त्रिभुवन विश्वविद्यालयलाई मुलुककै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले गुणस्तरीय तथा अन्तर्राष्ट्रियस्तरमा स्वीकार्य उच्च शिक्षा, सुशासन, विकेन्द्रीकरण, स्वायत्तता र त्रिविका पूर्वविद्यार्थी (Alumni) लाई विश्वविद्यालयको दिगो स्रोतका रूपमा उपयोग गर्ने योजना अघि बढाइने बताउनुभयो।
कार्यक्रममा त्रिवि सेवा आयोगका अध्यक्ष किशोर थापाले विश्वविद्यालयको उन्नतिका लागि आफ्नो जीवनको महत्वपूर्ण समय समर्पण गर्ने शिक्षक तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै सेवा आयोगले स्वच्छ, निष्पक्ष र पूर्वाग्रहरहित ढंगले कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले स्वस्थ र रचनात्मक आलोचनाले विश्वविद्यालय सुधारमा योगदान पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो।

निमित्त शिक्षाध्यक्ष प्रा. डा. शंकर प्रसाद खनालले त्रिविमा शैक्षिक पात्रो कार्यान्वयन, परीक्षा तथा नतिजा प्रकाशनमा सुधार, प्रविधि र प्रयोगशालाको स्तरोन्नति तथा बजारको आवश्यकता अनुसार पाठ्यक्रम परिमार्जनका कार्य भइरहेको जानकारी दिनुभयो। उहाँले त्रिविको शासकीय प्रणालीमा अझ व्यापक सुधार आवश्यक रहेको धारणा राख्नुभयो।
निमित्त रजिस्ट्रार प्रा. डा. महनन्द चालिसेले विश्वविद्यालयको वास्तविक शक्ति समर्पित शिक्षक र कर्मचारी भएको उल्लेख गर्दै कृत्रिम बुद्धिमत्ता (AI) र प्रविधिको तीव्र विकासले उच्च शिक्षामा अवसरसँगै चुनौती पनि थपेको बताउनुभयो।
दीर्घसेवा पदक प्राप्त गर्ने शिक्षकमध्ये १७ जना प्राध्यापक, ५९ जना सहप्राध्यापक र ६६ जना उपप्राध्यापक रहेका छन् भने ४३ जना कर्मचारी अधिकृत द्वितीयदेखि श्रेणीविहीन तहसम्मका छन्।

यसै अवसरमा आर्थिक वर्ष २०८१/०८२ को उत्कृष्ट अनुदान पुरस्कारबाट सहप्राध्यापक डा. हरिप्रसाद शर्मा र उपप्राध्यापक डा. विनोद घिमिरे सम्मानित हुनुभयो। साथै बाबुकृष्ण रिजाल पुरस्कार विकल्प पौडेल, बेलिवशेश्वर चटौत पुरस्कार अपेक्षा भट्टराई र महेशचन्द्र तथा मनदेवी रेग्मी पुरस्कार रोजीना राईलाई प्रदान गरिएको त्रिविले जनाएको छ।