Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस: गुणस्तरीय शिक्षा, सुशासन र अनुसन्धानमुखी विश्वविद्यालय निर्माणमा जोड

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस: गुणस्तरीय शिक्षा, सुशासन र अनुसन्धानमुखी विश्वविद्यालय निर्माणमा जोड

  • 414
    SHARES

  • त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस: गुणस्तरीय शिक्षा, सुशासन र अनुसन्धानमुखी विश्वविद्यालय निर्माणमा जोड

    काठमाडौं, साउन ७। नेपालको सबैभन्दा पुरानो तथा ठूलो उच्च शिक्षालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ६७औँ वार्षिक दिवस विविध कार्यक्रमका साथ मनाएको छ। वार्षिक दिवसका अवसरमा कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनमा आयोजित विशेष समारोहमा सहकुलपति तथा शिक्षा तथा खेलकुद मन्त्री सम्मित पोखरेलले नेपाल तथा त्रिभुवन विश्वविद्यालयको झण्डोत्तलन गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।

    समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षामा सुधार र रूपान्तरणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले योग्य र सक्षम नेतृत्वको नियुक्तिसँगै विश्वविद्यालयहरू क्रमशः गतिशील बन्दै गएको उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालयको ऐतिहासिक पहिचानलाई जोगाउँदै समयानुकूल परिवर्तन र नयाँ अध्यायको सुरुआत गरिने बताउनुभयो।

    FB_IMG_1784791348832~2.jpg

    उहाँले विश्वविद्यालयको प्राज्ञिक स्वायत्ततालाई थप सुदृढ बनाइने, दलीय भागबण्डाको अन्त्य गरी योग्यतामा आधारित प्रणाली लागू गरिने तथा विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखिने स्पष्ट पार्नुभयो। “सरकारबाट विश्वविद्यालयमा कुनै पनि प्रकारको अनावश्यक हस्तक्षेप वा दबाब हुने छैन,” मन्त्री पोखरेलले भन्नुभयो, “विश्वविद्यालयका पदाधिकारीहरूले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई केन्द्रमा राखेर काम गर्नुपर्छ।” उहाँले त्रिभुवन विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन विदेशी विश्वविद्यालयसँग सहकार्य विस्तार गरिने जानकारी पनि दिनुभयो।

    FB_IMG_1784791339263~2.jpg

    नेपाली प्राध्यापकहरूको क्षमता अभिवृद्धिका लागि Professor Exchange Program सञ्चालन गर्न विभिन्न मुलुकका राजदूत तथा अन्तर्राष्ट्रिय साझेदार संस्थासँग कूटनीतिक पहल अघि बढाइने उहाँको भनाइ थियो। यसबाट अनुसन्धान, ज्ञान आदान–प्रदान तथा अन्तर्राष्ट्रिय सहकार्य थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले त्रिवि नेपालको उच्च शिक्षाको ऐतिहासिक संस्था र राष्ट्रिय धरोहर भएको उल्लेख गर्नुभयो। बदलिँदो समयको आवश्यकता अनुसार विश्वविद्यालयलाई थप गुणस्तरीय, अनुसन्धानमुखी, नवप्रवर्तनशील र प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ काम अघि बढाइएको उहाँले बताउनुभयो।

    उहाँले विश्वविद्यालयभित्र सुशासन कायम गर्न संस्थागत प्रणाली विकास, अन्तरविषय सहकार्यको विस्तार, अनुसन्धान र नवप्रवर्तनमा विशेष जोड तथा नैतिक शैक्षिक संस्कृतिको विकासलाई प्राथमिकता दिइने जानकारी दिनुभयो। विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी तथा सरोकारवालाको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो।

    वार्षिक दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय सूचना तथा जनसम्पर्क महाशाखाद्वारा नियमित रूपमा प्रकाशित ‘TU Today 2083’ तथा ‘TU Annual Day Publication 2026’ को विमोचन पनि सहकुलपति तथा शिक्षा तथा खेलकुद मन्त्री सम्मित पोखरेलले गर्नुभयो। ती प्रकाशनमा विश्वविद्यालयका वार्षिक गतिविधि, उपलब्धि, अनुसन्धान, शैक्षिक कार्यक्रम तथा भावी योजनाहरू समेटिएका छन्।

    कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी, विभिन्न विश्वविद्यालयका प्रतिनिधि, सरकारी अधिकारी तथा शिक्षा क्षेत्रका सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले त्रिभुवन विश्वविद्यालयलाई गुणस्तरीय, अनुसन्धानमुखी, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी विश्वविद्यालयका रूपमा विकास गर्न सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

    यस वर्षको वार्षिक दिवसले त्रिभुवन विश्वविद्यालयको गौरवशाली इतिहासलाई स्मरण गर्दै उच्च शिक्षामा गुणस्तर, सुशासन, अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धतालाई पुनः स्थापित गरेको आयोजकले जनाएको छ।

    images
    बिहिवार, श्रावण ७ २०८३०४:५८:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार