Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेकपाको शिक्षा विभागमा उपप्रमुखमा शंकर अधिकारी नियुक्त

नेकपाको शिक्षा विभागमा उपप्रमुखमा शंकर अधिकारी नियुक्त

  • 1.1K
    SHARES

  • नेकपाको शिक्षा विभागमा उपप्रमुखमा शंकर अधिकारी नियुक्त

    काठमाडौं, साउन ७ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शिक्षा विभाग गठन गर्दै शिक्षाविद् शंकर अधिकारीलाई विभागको उपप्रमुखको जिम्मेवारी दिएको छ।

    पार्टीको केन्द्रीय कार्य संयोजन समितिको निर्णयअनुसार गिरिराजमणि पोखरेलको नेतृत्वमा गठन गरिएको शिक्षा विभागमा रामकुमार ज्ञवाली र शंकर अधिकारीलाई उपप्रमुख नियुक्त गरिएको हो। पार्टीका मुख्य सचिव गणेशमान पुनद्वारा जारी अन्तरपार्टी निर्देशन–३ मा विभागले तोकिएको जिम्मेवारी प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको उल्लेख छ।

    धादिङको नेत्रावती गाउँपालिकाका अधिकारी लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय छन्। माध्यमिक तहका विज्ञान शिक्षकबाट शिक्षण यात्रा सुरु गरेका उनले निरञ्जना माध्यमिक विद्यालयमा शिक्षक, सहायक प्रधानाध्यापक तथा तत्कालीन उच्च माध्यमिक विद्यालयका प्राचार्यका रूपमा जिम्मेवारी निर्वाह गरेका छन्। उनी स्नातकोत्तर तह उत्तीर्ण शिक्षाविद् हुन्।

    शिक्षा क्षेत्रसँगै उनी शिक्षक आन्दोलनमा पनि सक्रिय रहँदै आएका छन्। उनले अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् भने हाल नेपाल शिक्षक संगठन (NTO) को केन्द्रीय महाधिवेशन आयोजक समितिका संयोजक छन्।

    पार्टीले उनको शैक्षिक अनुभव, संगठन निर्माण क्षमता तथा शिक्षा नीतिमा योगदानलाई मूल्याङ्कन गर्दै शिक्षा विभागको उपप्रमुखको जिम्मेवारी दिएको जनाएको छ। शिक्षा क्षेत्रका सरोकारवालाले उनको नियुक्तिले पार्टीको शिक्षा नीति निर्माण र शैक्षिक आन्दोलनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छन्।

    images
    बिहिवार, श्रावण ७ २०८३०६:१७:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार