शनिवार, श्रावण ९ २०८३
काठमाडौं, साउन ९। डा. गोविन्द केसीसँग वार्तामार्फत सहमतिपूर्ण समाधान खोज्ने उद्देश्यले सरकारको उच्चस्तरीय टोली धनगढी पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल शुक्रबार डा. केसीसँग प्रत्यक्ष संवाद गर्न धनगढी पुग्नुभएको हो।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले हिजो साँझ डा. केसीसँग टेलिफोनमार्फत प्रारम्भिक संवाद गर्नुभएको थियो। सोही संवादलाई औपचारिक रूपमा अघि बढाउन मन्त्रालयका सचिव पौडेललाई धनगढी पठाइएको मन्त्री पोखरेलले जानकारी दिनुभएको छ।
सरकारले वार्तालाई थप प्रभावकारी बनाउन भोलि प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव पनि धनगढी पुगेर संवादमा सहभागी हुने कार्यक्रम रहेको जनाएको छ।
सरकारले संवाद र सहमतिमार्फत डा. केसीले उठाउनुभएका विषयहरूको यथाशीघ्र समाधान खोज्ने प्रतिबद्धता दोहोर्याएको छ। मन्त्री पोखरेलले वार्ताबाट सकारात्मक निष्कर्ष निकाल्ने दिशामा सरकार गम्भीर र प्रतिबद्ध रहेको बताउनुभएको छ।