आइतवार, श्रावण १० २०८३
काठमाडौं, साउन १० । शिक्षा नियमावली (दशौँ संशोधन) मा समावेश गरिएको शिक्षक सरुवासम्बन्धी प्रावधानप्रति असन्तुष्टि जनाउँदै नवप्रवेशी तथा सरुवा पीडित शिक्षक केन्द्रीय संघर्ष समिति ले आन्दोलन घोषणा गरेको छ।
समितिले आइतबार जारी गरेको विज्ञप्तिमा शिक्षा नियमावलीको दशौँ संशोधनमा समेटिएका सरुवासम्बन्धी व्यवस्था शिक्षकको वास्तविक अवस्था, नेपालको भौगोलिक विविधता, पारिवारिक दायित्व तथा सार्वजनिक शिक्षाको आवश्यकता विपरीत रहेको दाबी गरेको छ। खुला प्रतिस्पर्धाबाट सेवा प्रवेश गरेका करिब ४० हजार नयाँ शिक्षकहरूका हकहितमाथि प्रतिकूल असर पर्ने भन्दै उक्त व्यवस्था तत्काल खारेज वा संशोधन गर्न माग गरिएको छ। समितिका अनुसार मिति २०८३ साउन ९ गते अनलाइन जुममार्फत आयोजित नवप्रवेशी युवा शिक्षकहरूको बैठकले शिक्षा नियमावलीको दशौँ संशोधनलाई "हतारमा ल्याइएको त्रुटिपूर्ण व्यवस्था" भन्दै त्यसको विरोध गर्ने निर्णय गरेको हो।
विज्ञप्तिअनुसार आगामी साउन १५ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा वृहत् विरोध कार्यक्रम सञ्चालन गरिने भएको छ। आन्दोलनमा सम्पूर्ण शिक्षक, शिक्षाप्रेमी तथा सरोकारवालालाई सहभागी भई ऐक्यबद्धता जनाउन समितिले आग्रह गरेको छ।
समितिका संयोजक नेत्रलाल भट्टराई ले शिक्षकहरूको पेशागत सम्मान, न्यायपूर्ण सरुवा व्यवस्था र विद्यालय शिक्षाको सुधारका लागि आन्दोलन आवश्यक बनेको उल्लेख गर्दै देशभरका शिक्षकलाई प्रदेशगत संयोजकमार्फत अभियानमा जोडिन आह्वान गरेका छन्।
