सोमवार, श्रावण ११ २०८३
काठमाडौं, साउन ११ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय (परीक्षा नियन्त्रण महाशाखा) ले स्नातक, स्नातकोत्तर तथा एम.फिल. कार्यक्रमका सत्रान्त परीक्षामा सहभागी हुने परीक्षार्थीहरूका लागि अत्यन्त जरुरी सूचना जारी गर्दै परीक्षा नियमावली र विद्यार्थी आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।
डीनको कार्यालयले जारी गरेको सूचनाअनुसार प्रत्येक परीक्षार्थीले परीक्षा नियन्त्रण महाशाखाबाट जारी गरिएको वैध प्रवेशपत्र (Authentic Admit Card) अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। साथै परीक्षा केन्द्रले तोकेको सिटमा मात्र बसेर परीक्षा दिनुपर्ने र केन्द्राध्यक्ष वा निरीक्षकको अनुमति बिना आफ्नो सिट वा परीक्षा भवन छोड्न नपाइने उल्लेख गरिएको छ। परीक्षा सुरु भएको पहिलो एक घण्टासम्म परीक्षा भवनबाट बाहिर निस्कन समेत अनुमति नहुने जनाइएको छ।
सूचनामा मोबाइल फोन, स्मार्टवाच लगायतका इलेक्ट्रोनिक उपकरण, चिट, पुस्तक वा अन्य कुनै पनि निषेधित सामग्री परीक्षा भवनभित्र ल्याउन कडाइका साथ निषेध गरिएको छ। त्यस्तै नक्कल गर्ने, अरूलाई सहयोग गर्ने, अरूको सट्टा परीक्षा दिने (प्रतिरूपण), परीक्षा सञ्चालनमा अवरोध पुर्याउने वा परीक्षा कर्मचारीप्रति अभद्र व्यवहार गर्न नपाइने स्पष्ट गरिएको छ।
डीनको कार्यालयले परीक्षा अवधिभर केन्द्राध्यक्ष, पर्यवेक्षक, निरीक्षक तथा परीक्षा कर्मचारीको निर्देशनको पूर्ण रूपमा पालना गर्न सबै परीक्षार्थीलाई आग्रह गरेको छ।
विश्वविद्यालयले परीक्षा नियम तथा आचारसंहिताको उल्लङ्घन गरेको पाइएमा विश्वविद्यालयको परीक्षा नियमावली बमोजिम परीक्षा रद्द हुने, निश्चित अवधिसम्म परीक्षामा सहभागी हुनबाट वञ्चित गरिने तथा आवश्यक परे कानुनी कारबाहीसमेत हुन सक्ने चेतावनी दिएको छ।
डीनको कार्यालयले अनुशासित, मर्यादित र निष्पक्ष वातावरणमा परीक्षा सम्पन्न गराउन सबै परीक्षार्थीको सहयोगको अपेक्षा गरेको छ।