Oct 02 2026 | २०८३, आश्विन १६ गते

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त

  • 275
    SHARES

  • विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त

    २० साउन, काठमाडौं । विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को अध्यक्षमा त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयका प्राध्यापक केसीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

    अध्यादेशमार्फत आयोगका तत्कालीन अध्यक्ष प्रा.डा. देवराज अधिकारी पदमुक्त भएपछि अध्यक्ष पद रिक्त थियो। यद्यपि, अध्यादेश जारी हुनुअघि नै अधिकारीले अध्यक्ष पदबाट राजीनामा दिएका थिए। प्रा.डा. केसी अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तथा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्।

    तीन दशकभन्दा बढी समयदेखि त्रिभुवन विश्वविद्यालयमा अध्यापन, अनुसन्धान र शैक्षिक नेतृत्वमा सक्रिय केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका पूर्वप्रमुखसमेत हुन्। उनका अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति तथा नेपालको परराष्ट्र नीतिसम्बन्धी विभिन्न अनुसन्धानमूलक लेख तथा कृतिहरू प्रकाशित छन्।

    केसी २०८१ वैशाखमा त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा नियुक्त भएका थिए। त्रिविका तत्कालीन उपकुलपति प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि उनले केही समय उपकुलपतिको समेत जिम्मेवारी सम्हालेका थिए।

    अब विश्वविद्यालय अनुदान आयोगको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका केसीसामु उच्च शिक्षाको गुणस्तर सुधार, विश्वविद्यालयको नियमन तथा अनुगमन, अनुसन्धान प्रवर्द्धन र उच्च शिक्षामा अनुदान वितरणलाई थप प्रभावकारी बनाउने चुनौती रहनेछ।

    सरकारले विश्वविद्यालय अनुदान आयोगमार्फत उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, नियमन, अनुगमन तथा अनुसन्धानका लागि विश्वविद्यालय तथा शैक्षिक संस्थालाई विभिन्न शीर्षकमा अनुदान उपलब्ध गराउँदै आएको छ।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार