बुधवार, श्रावण २० २०८३
काठमाडौँ, साउन २० । शिक्षा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा गर्दै आगामी वर्ष शिक्षा क्षेत्रको संरचनात्मक रूपान्तरण, सेवा प्रवाह सुधार र परिणाममुखी कार्यसम्पादनलाई प्राथमिकता दिने निर्णय गरेको छ।
मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति तथा वार्षिक प्रगति समीक्षा बैठकले मन्त्रालय र मातहतका निकायबाट वर्षभरि भएका काम, विकास आयोजनाको कार्यान्वयन, बजेट खर्च, सेवा प्रवाह, गुनासो व्यवस्थापन तथा सुशासनको अवस्थाबारे विस्तृत समीक्षा गरेको हो।

बैठकलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षदेखि ‘सिकाइ चौतारी’ कार्यक्रमलाई उच्च प्राथमिकताका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो। उहाँले नयाँ पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनसँगै नतिजामुखी कार्यसंस्कृतिको विकास र शिक्षा प्रणालीमा गुणात्मक सुधारलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो।
एसईई प्रदेशबाट सञ्चालन गर्ने तयारी
मन्त्रालयका सचिव चुडामणि पौडेलले माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई क्रमशः प्रदेशस्तरबाट सञ्चालन गर्ने विषयमा तयारी गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले चालु आर्थिक वर्षमा करिब डेढ अर्ब रुपैयाँभन्दा बढी रकम फर्छ्यौट गरिएको जानकारी दिनुभयो।
उच्च शिक्षा पुनःसंरचना र शिक्षकका समस्या समाधानमा जोड
राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गानाले उच्च शिक्षाको पुनःसंरचनाको खाका शीघ्र कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो। उहाँले शिक्षकका समस्या समाधानका लागि समेत पहल गर्नुपर्नेमा जोड दिनुभयो।
मन्त्रालयका अनुसार ‘हेलो सरकार’मार्फत प्राप्त १ हजार १४१ वटा उजुरी सम्बोधन गरिएको छ। त्यस्तै, आठ विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट उपकुलपति चयन गरिएको जानकारी बैठकमा दिइएको छ।
बैठकले आगामी वर्ष शिक्षा क्षेत्रमा भएका कार्यक्रमलाई केवल बजेट खर्च र औपचारिक प्रगतिमा सीमित नगरी नतिजा र विद्यार्थीको सिकाइ उपलब्धिसँग जोडेर अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।