शुक्रवार, श्रावण २२ २०८३
तनहुँ । तनहुँ । बन्दीपुर गाउँपालिकाले सामुदायिक विद्यालयका लागि ९ जना प्रधानाध्यापक नियुक्त गर्न दरखास्त आह्वान गरेको छ। गाउँपालिकाले बुधबार सूचना प्रकाशित गर्दै माध्यमिक तहका ६ र आधारभूत तहका ३ विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि आवेदन माग गरेको हो।
गाउँपालिकाले सूचना जारी गर्दै माध्यमिक तहका ६ र आधारभूत तहका ३ विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन माग गरेको हो। इच्छुक शिक्षकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समिति वा विद्यालय प्रशासनमा आवेदन बुझाउनुपर्नेछ।
माध्यमिक तहमा विष्णु, पवित्रा, भानु, शिव, कालिका र अरुण माध्यमिक विद्यालय तथा आधारभूत तहमा जगदिश्वर, चन्द्रोदय र सेतीगंगा आधारभूत विद्यालयका लागि एक–एक जना प्रधानाध्यापक माग गरिएको छ।
माध्यमिक तहका लागि स्नातकोत्तर उत्तीर्ण गरी शिक्षाशास्त्रमा स्नातक वा सो सरहको योग्यता हासिल गरेको र कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको हुनुपर्नेछ। आधारभूत तहका लागि स्नातक तथा शिक्षाशास्त्रमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको हुनुपर्ने गाउँपालिकाले जनाएको छ।
आवेदकले निवेदनसँगै नागरिकताको प्रतिलिपि, स्थायी नियुक्ति तथा बढुवा पत्र, शैक्षिक योग्यताका प्रमाणपत्र, व्यवस्थापन तथा शैक्षिक तालिमका प्रमाणपत्र, विद्यालय विकास प्रस्ताव र पछिल्लो तीन वर्षको अध्यापन नतिजा पेश गर्नुपर्नेछ।
