Oct 02 2026 | २०८३, आश्विन १६ गते

मधेसमा ‘शिक्षा संवाद’ : प्रस्तावित शिक्षा ऐनमा सरोकारवालाले दिए सुधारका सुझाव

मधेसमा ‘शिक्षा संवाद’ : प्रस्तावित शिक्षा ऐनमा सरोकारवालाले दिए सुधारका सुझाव

  • 549
    SHARES

  • मधेसमा ‘शिक्षा संवाद’ : प्रस्तावित शिक्षा ऐनमा सरोकारवालाले दिए सुधारका सुझाव

    जनकपुरधाम । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत मधेस प्रदेशमा दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ।

    जनकपुरधाम–६, धनुषास्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकुण्डमा प्रधानाध्यापक एसोसिएसन नेपालको सहजीकरणमा आयोजित कार्यक्रममा मधेस प्रदेशका आठवटै जिल्लाबाट शिक्षा क्षेत्रका सरोकारवालाहरू सहभागी भएका थिए। कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकार शैलेन्द्र झा, विद्यालय शिक्षा महाशाखा प्रमुख शिव सापकोटा, प्रधानाध्यापक एसोसिएसन नेपालका अध्यक्ष सुदाम गौतम, शिक्षा अभियन्ता अभिषेक घिमिरे तथा शिक्षक महासंघका अर्थ सचिव रामानन्द यादवलगायतको सहभागिता रहेको थियो।

    कार्यक्रममा सहभागी शिक्षा क्षेत्रका अगुवाहरूले आगामी शिक्षा ऐनमा समेटिनुपर्ने विषय, विद्यालय शिक्षालाई प्रभावकारी र गुणस्तरीय बनाउने उपाय तथा विद्यालय शिक्षाको विकासमा समुदायको अपनत्व र सहभागिता बढाउने विषयमा सुझाव दिएका थिए।

    सरोकारवालाहरूले शिक्षा ऐन निर्माण गर्दा विद्यालय तहमा देखिएका व्यावहारिक समस्या, शिक्षक तथा विद्यालयका वास्तविक आवश्यकता र स्थानीय समुदायको भूमिकालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए। विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयनमा समेत ध्यान दिनुपर्ने उनीहरूको धारणा थियो।

    मधेस प्रदेशका आठवटै जिल्लाबाट २११ जना शिक्षा क्षेत्रका सरोकारवाला सहभागी कार्यक्रममा शिक्षक, प्रधानाध्यापक, अभिभावक तथा शिक्षा क्षेत्रका अन्य अगुवाहरूले विद्यालय शिक्षाका चुनौती र सुधारका सम्भावित उपायबारे धारणा राखेका थिए।

    कार्यक्रममा शिक्षा ऐनलाई विद्यालयको वास्तविकतासँग जोड्ने, शिक्षक तथा विद्यालयका पेशागत र व्यवस्थापकीय समस्या सम्बोधन गर्ने तथा शिक्षामा समुदायको सक्रिय सहभागिता बढाउने विषयमा समेत छलफल भएको थियो।

    सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गरी प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा शिक्षा सुधारसम्बन्धी नीतिमा समेट्ने उद्देश्यले मन्त्रालयले ‘शिक्षा संवाद’ अभियान सञ्चालन गरिरहेको छ। अभियानमार्फत प्रदेशगत रूपमा उठेका समस्या, सुझाव र अपेक्षालाई संकलन गरी शिक्षा क्षेत्रको नीतिगत सुधारमा उपयोग गर्ने मन्त्रालयको तयारी छ।

    images
    आइतवार, श्रावण ३१ २०८३०८:५७:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार