मंगलवार, भाद्र २ २०८३
पोखरा । संघीय शिक्षा ऐन निर्माणका लागि सरोकारवालाबाट सुझाव संकलन गर्ने उद्देश्यले पोखरामा प्रदेशस्तरीय ‘शिक्षा संवाद’ कार्यशाला आयोजना हुने भएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक संघ (PAN) को सहजीकरणमा यही भदौ २ गते बिहान ११ बजे पोखरा–१६, बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा संघीय शिक्षा ऐन, विद्यालय शिक्षा सुधार तथा शिक्षासँग सम्बन्धित नीतिगत विषयमा सरोकारवालाका सुझाव, अनुभव र धारणा संकलन गरिने जनाइएको छ।
कार्यक्रमका लागि शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा, शिक्षा मन्त्रालयका महाशाखा प्रमुख सहसचिव शिवकुमार सापकोटा, शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला, प्रधानाध्यापक संघका अध्यक्ष सुदाम गौतम र शिक्षा अभियन्ता अभिषेक घिमिरे सम्मिलित कार्यदल रहनेछ।
विन्ध्यवासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले शिक्षा क्षेत्रमा क्रियाशील सरोकारवालालाई कार्यक्रममा उपस्थित भई संघीय शिक्षा ऐनका विषयमा आफ्ना सुझाव र धारणा राख्न हार्दिक निमन्त्रणा गरेका छन्।
शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा सरोकारवालासँग संवाद तथा सुझाव संकलन गर्ने मन्त्रालयको अभियानअन्तर्गत पोखरामा कार्यक्रम आयोजना गर्न लागिएको हो।