Oct 02 2026 | २०८३, आश्विन १६ गते

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकमा ५ हजार थप

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकमा ५ हजार थप

  • 341
    SHARES

  • बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकमा ५ हजार थप

    काठमाडौं । सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिकमा मासिक ५ हजार रुपैयाँ थप गर्ने निर्णय कार्यान्वयन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ।

    शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले भदौ ८ गते सबै स्थानीय तहलाई पत्राचार गर्दै नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो।

    निर्णयअनुसार प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ थप गरी निकासा गर्नुपर्नेछ।

    त्यस्तै, संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलबसमेत बढाइएको छ। माध्यमिक तह (कक्षा ९–१०) मा कार्यरत शिक्षकको तलब माध्यमिक तह तृतीय श्रेणीको सुरु तलब र आधारभूत तह (कक्षा ६–८) मा कार्यरत शिक्षकको तलब निम्न माध्यमिक तह तृतीय श्रेणीको सुरु तलब बराबर हुने गरी निकासा गर्न विभागले स्थानीय तहलाई निर्देशन दिएको छ।

    शिक्षा विभागले सरकारको निर्णयअनुसार बढेको पारिश्रमिक तथा तलब उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाउन सबै स्थानीय तहलाई आग्रह गरेको छ। यसैगरी, ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई स्थानीय तहसँग आवश्यक समन्वय गर्नसमेत विभागले अनुरोध गरेको छ।

    निर्णय कार्यान्वयनसँगै प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी, विद्यालय सहयोगी तथा संघीय अनुदानमा कार्यरत शिक्षकले बढेको पारिश्रमिक तथा तलब पाउने भएका छन्।

    FB_IMG_1787563679809.jpg

    images
    सोमवार, भाद्र ८ २०८३०४:१०:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार