मंगलवार, भाद्र ९ २०८३
काठमाडौं, ९ भदौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पस, कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले परीक्षा प्रणाली तथा सेवा प्रवाहमा सुधार गर्नुपर्ने मागसहित परीक्षा नियन्त्रण कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ।
स्ववियुले विद्यार्थीले परीक्षा तथा प्रमाणपत्रसम्बन्धी सेवा लिन भोग्दै आएका समस्या समाधान गर्नुपर्ने भन्दै परीक्षा केन्द्र निर्धारण, प्रमाणपत्र वितरण, पुनःयोग तथा पुनःजाँच, डिजिटल भुक्तानी, दीक्षान्त समारोह र परीक्षा नतिजालगायतका विषयमा १० बुँदे माग अघि सारेको हो।
स्ववियुले सबै तहका परीक्षाका केन्द्र आङ्गिक तथा सामुदायिक क्याम्पसमा मात्र निर्धारण गर्नुपर्ने माग गरेको छ। निजी कलेज, ‘होम सेन्टर’ तथा ‘क्रस क्याम्पस सेन्टर’मा परीक्षा केन्द्र तोक्न नहुने उसको माग छ।
त्यस्तै, परीक्षा नियन्त्रण कार्यालयलाई डिजिटल, प्रविधिमैत्री तथा विकेन्द्रीकृत बनाउँदै सातै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्नुपर्ने र सुरक्षित डिजिटल प्रश्नपत्र प्रणाली लागू गर्नुपर्ने माग गरिएको छ। पुनःयोग तथा पुनःजाँचका क्रममा कार्यालयको त्रुटि प्रमाणित भए शुल्क फिर्ता गर्ने र प्रक्रिया समयबद्ध बनाउन पनि स्ववियुले माग गरेको छ।
ट्रान्सक्रिप्ट, मार्कसिट, माइग्रेसन र प्रोभिजनललगायतका प्रमाणपत्र २४ घण्टाभित्र उपलब्ध गराउनुपर्ने तथा परीक्षा शुल्क र अन्य दस्तुरका लागि eSewa, Khalti, PhonePe तथा मोबाइल बैंकिङलगायत डिजिटल भुक्तानीको व्यवस्था गर्नुपर्ने मागसमेत राखिएको छ।
अदालतको आदेशबमोजिम जारी हुने ट्रान्सक्रिप्टमा ‘अदालतको आदेश बमोजिम’ भन्ने व्यहोरा उल्लेख नगरी यस्तो विवरण डिजिटल अभिलेखमा मात्र राख्नुपर्ने स्ववियुको माग छ।
स्ववियुले ५१औँ दीक्षान्त समारोहको सम्पूर्ण आम्दानी तथा खर्च सार्वजनिक गर्न तथा ५२औँ दीक्षान्त समारोहको मिति र विस्तृत कार्यतालिका तत्काल सार्वजनिक गर्न पनि माग गरेको छ। महालेखा परीक्षकको सुझावअनुसार PAMS V2 लागू गर्नुपर्ने र चालू आर्थिक वर्षका योजना तथा विशेष खरिदसम्बन्धी आर्थिक विवरण सार्वजनिक गर्नुपर्ने मागसमेत ज्ञापनपत्रमा समेटिएको छ।
त्यसैगरी, LLB तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षाको नतिजा यथाशीघ्र प्रकाशन गर्न स्ववियुले आग्रह गरेको छ। नतिजा ढिलाइ हुँदा विद्यार्थीहरू अधिवक्ताको परीक्षामा सहभागी हुनबाट प्रभावित हुने भएकाले तत्काल नतिजा सार्वजनिक गर्नुपर्ने स्ववियुको भनाइ छ।
स्ववियुले यी माग विद्यार्थीको शैक्षिक तथा प्रशासनिक सेवासँग प्रत्यक्ष जोडिएकाले तत्काल सम्बोधन गरी परीक्षा प्रणालीलाई पारदर्शी, प्रविधिमैत्री, छरितो र विद्यार्थीमैत्री बनाउन परीक्षा नियन्त्रण कार्यालयसँग आग्रह गरेको छ।