Oct 02 2026 | २०८३, आश्विन १६ गते

कपाल छोटो बनाउन दबाब दिएको भन्दै ‘हेलो सरकार’मा विद्यार्थीको गुनासो

कपाल छोटो बनाउन दबाब दिएको भन्दै ‘हेलो सरकार’मा विद्यार्थीको गुनासो

  • 250
    SHARES

  • कपाल छोटो बनाउन दबाब दिएको भन्दै ‘हेलो सरकार’मा विद्यार्थीको गुनासो

    चितवन । विद्यालयले कपाल छोटो बनाउन दबाब दिएको भन्दै विद्यार्थीहरूले ‘हेलो सरकार’मा गुनासो गर्न थालेका छन् । विद्यालयमा अध्ययनरत किशोर विद्यार्थीले आफ्नो इच्छाविपरीत कपाल काट्न दबाब दिइएको भन्दै उजुरी गर्ने क्रम बढेको पाइएको हो ।

    भरतपुर–१० का बुद्धिकान्त न्यौपानेका छोराहरूको अनुभव पनि यस्तै छ । कक्षा १२ मा अध्ययनरत ठूलो छोरालाई कपाल काट्न भन्न छाडेको र कक्षा ७ मा अध्ययनरत कान्छो छोराले पनि कपाल छोटो बनाउन नमान्ने गरेको उनले बताए । उनका अनुसार पछिल्लो समय विद्यालय र अभिभावकबीच कपालको लम्बाइलाई लिएर असहज अवस्था देखिन थालेको छ ।

    कृष्णपुरका विनोद ढकालले पनि विद्यालयबाट छोराको कपाल छोटो बनाउन लगाउन आग्रह गर्दै फोन आएको बताए । कक्षा ९ मा अध्ययनरत छोराले कपाल काट्न नमानेपछि आफूले जबर्जस्ती नगरेको उनको भनाइ छ । भरतपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख सुवास आचार्यका अनुसार विद्यालयले दबाबमा कपाल काट्न लगाएको भन्दै विद्यार्थीले ‘हेलो सरकार’मा उजुरी गर्ने गरेको जानकारी आफूलाई आएको छ । विशेषगरी अभिभावकबाट टाढा रहेका, हजुरबुबा–हजुरआमासँग बस्ने तथा छात्रावासमा बस्ने विद्यार्थीमा यस्तो समस्या बढी देखिएको उनले बताए ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनका अध्यक्ष मदन पुरीले पनि पछिल्लो समय कपाल काट्ने विषयमा विद्यालयहरूले विद्यार्थीलाई दबाब दिन सक्ने अवस्था नरहेको बताए । उनका अनुसार देशभरका केही निजी विद्यालयविरुद्ध विद्यार्थीको इच्छाविपरीत कपाल काट्न लगाएको भन्दै ‘हेलो सरकार’मा उजुरी परेको जानकारी आएको छ । सरकारले स्वीकृत गरेको शिक्षा नियमावलीको १०औँ संशोधनले विद्यार्थीलाई जबर्जस्ती कपाल काट्न नपाउने व्यवस्था गरेको छ । नियमावलीको नियम २५ ले विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने गतिविधि विद्यालय परिसर वा कक्षाकोठाभित्र गर्न–गराउन रोक लगाएको छ ।

    त्यस्तै, विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने, लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउने कार्यसमेत गर्न नपाइने व्यवस्था गरिएको छ ।

    मनोविज्ञानका उपप्राध्यापक डा. सुरेन्द्र घिमिरे किशोर अवस्थामा आफूलाई फरक र आधुनिक देखाउने चाहना स्वाभाविक रूपमा बढ्ने बताउँछन् । उनका अनुसार सामाजिक सञ्जाल, चलचित्र, संगीत तथा सेलिब्रेटी संस्कृतिको प्रभावले किशोर–किशोरीको पहिरन र कपालको शैलीमा समेत परिवर्तन आएको छ । “नक्कल गर्ने मानिसको नैसर्गिक गुण हो । सेलिब्रेटीले गरेको देखेपछि त्यसको सिको गर्ने प्रवृत्ति किशोर अवस्थामा झन् बढी हुन्छ,” उनले भने ।

    उनका अनुसार लामो कपाल राख्नु आफैंमा नराम्रो विषय होइन । तर त्यसको सरसफाइ र नियमित हेरचाहमा ध्यान दिन आवश्यक हुन्छ । कपालको हेरचाहमा समय र खर्च लाग्ने तथा सरसफाइमा ध्यान नदिँदा चाया, जुम्रा लगायतका समस्या देखिन सक्ने भएकाले विद्यार्थीलाई स्वच्छता र व्यक्तिगत हेरचाहबारे सचेत गराउनुपर्ने उनको सुझाव छ ।

    विद्यालयमा अनुशासन कायम गर्नु आवश्यक भए पनि त्यसका नाममा विद्यार्थीको शारीरिक स्वरूपमाथि जबर्जस्ती हस्तक्षेप गर्नु उचित नहुने सरोकारवालाको भनाइ छ । त्यसैले कपालको लम्बाइलाई लिएर विद्यालय, अभिभावक र विद्यार्थीबीच संवादमार्फत समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ ।

    पछिल्लो अवस्थाले भने एउटा महत्वपूर्ण प्रश्न उठाएको छ—विद्यालयको अनुशासन कायम गर्ने अधिकार र विद्यार्थीको व्यक्तिगत स्वतन्त्रताबीच सन्तुलन कसरी कायम गर्ने?

    images
    बुधवार, भाद्र १० २०८३०९:३१:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार