बुधवार, भाद्र १० २०८३
काठमाडौं, भदौ १० । नेपाल शिक्षक महासङ्घले चीनको तिब्बत क्षेत्रबाट अचानक प्रवेश गरेको बाढीका कारण भोटेकोसी तथा आसपासका नदी तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको छ।
महासङ्घले बुधबार विज्ञप्ति जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नदी तटीय क्षेत्रमा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको हो। भोटेकोसीमा आएको बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण सार्वजनिक भएका छन्।
महासङ्घले बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै थप क्षति हुन नदिन बाढी प्रभावित नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
विपद्को यस कठिन घडीमा आफ्ना सबै संरचनालाई परिचालन गरी प्रभावित नागरिकको शीघ्र खोज, उद्धार, राहत तथा जीवनरक्षाका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न महासङ्घले नेपाल सरकारसँग आग्रह गरेको छ।
महासङ्घले आफ्ना सबै संरचना तथा शिक्षक–कर्मचारीलाई समेत विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा सहयोगका कार्यमा सक्रियतापूर्वक सहभागी हुन अपिल गरेको छ।
भोटेकोसीमा आएको बाढीपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
