बिहिवार, भाद्र ११ २०८३
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि देशव्यापी सहयोग संकलन अभियान सञ्चालन गर्ने भएको छ।
भोटेकोशी नदीमा आएको अप्रत्याशित विनाशकारी बाढीबाट रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्याब्सन केन्द्रीय समितिले विपद् प्रभावित नागरिक तथा आफ्ना सदस्य विद्यालय, विद्यार्थी, अभिभावक र शिक्षक–कर्मचारीलाई सहयोग गर्ने उद्देश्यले अभियान अघि बढाएको हो।
प्याब्सनले देशभरका प्रदेश, जिल्ला तथा पालिका कार्यसमिति र सदस्य विद्यालयहरूलाई अभियानमा सक्रिय सहभागिता जनाउन अपिल गरेको छ। करिब ५ हजार ५०० सदस्य विद्यालय, लाखौँ विद्यार्थी तथा तीन लाखभन्दा बढी शिक्षक–कर्मचारी आबद्ध रहेको संगठनले सामूहिक प्रयासबाट विपद् प्रभावितलाई राहत पुर्याउन सकिने जनाएको छ।
अभियानअन्तर्गत सदस्य विद्यालयहरूले विद्यालय परिवारमा समन्वय गरी स्वेच्छिक रूपमा सहयोग संकलन गर्नुपर्नेछ। प्याब्सनले शिक्षक तथा कर्मचारीबाट एक दिन बराबरको सहयोग, विद्यार्थी तथा अभिभावकबाट इच्छाअनुसार स्वेच्छिक सहयोग तथा विद्यालय सञ्चालक र व्यवस्थापनबाट क्षमताअनुसार संस्थागत सहयोगको अपेक्षा गरेको छ। सहयोगका लागि कुनै पनि प्रकारको दबाब वा अनिवार्यता भने नरहने प्याब्सनले स्पष्ट पारेको छ।
सहयोग संकलनलाई पारदर्शी र व्यवस्थित बनाउन पालिका समितिहरूले विद्यालयको नाम र सहयोग रकमसहितको विवरण तयार गरी सम्बन्धित जिल्ला समितिमा बुझाउनुपर्नेछ। जिल्ला समितिले प्राप्त विवरण तथा रकम केन्द्रमा पठाउनुका साथै सम्बन्धित प्रदेश समितिलाई समेत उपलब्ध गराउने व्यवस्था गरिएको छ।
प्याब्सनका अनुसार सहयोगको विवरण आवश्यकताअनुसार नेपाल सरकारका सम्बन्धित निकायलाई उपलब्ध गराइनेछ। साथै, सहयोग गर्ने विद्यालय तथा सहयोग रकमको विवरण प्याब्सनको वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।
संकलित सहयोग रकम सम्बन्धित सरकारी राहत कोषमा जिल्ला, प्रदेश तथा केन्द्रीय प्रतिनिधिको सहभागितामा हस्तान्तरण गरिनेछ। विपद्बाट प्रत्यक्ष प्रभावित प्याब्सन सदस्य विद्यालय, विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीको राहत र पुनःस्थापनाका लागि नेपाल सरकारसँग आवश्यक समन्वय र पहलसमेत गरिने प्याब्सनले जनाएको छ।
प्याब्सनका उपाध्यक्ष तथा प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभागका संयोजक रविन्स शर्माले विपद् कुनै एक क्षेत्र वा समुदायको मात्र समस्या नभई सम्पूर्ण समाजको साझा पीडा भएको भन्दै सबैलाई मानवीय सेवामा एकजुट हुन आह्वान गरेका छन्।
प्याब्सनले ‘दुःखको घडीमा एकअर्काको साथ बनौँ, विपद् पीडितको सहारा बनौँ’ भन्ने भावनाका साथ देशभरका सदस्य विद्यालयलाई अभियानमा सहभागी हुन आग्रह गरेको छ।
सहयोग रकम PABSON RELIEF FUND को टर्मिनल नम्बर 2222440019726799, बैंक शाखा कमलादी (090) मा जम्मा गर्न तथा सहयोगको भौचर र विवरण pabsonac@gmail.com मा पठाउन प्याब्सनले अनुरोध गरेको छ।

