शुक्रवार, भाद्र १२ २०८३
काठमाडौँ । नेपाल शिक्षक संगठनले भोटेकोशीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा केन्द्रित हुन आफ्ना पूर्वनिर्धारित सबै औपचारिक कार्यक्रम एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ।
संगठनले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका तटीय क्षेत्रमा बाढीका कारण भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको सहयोगमा जुट्न संगठनका सबै तहका समितिलाई आह्वान गरेको हो।
बाढीबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै संगठनले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। बेपत्ता नागरिकको तत्काल खोजी तथा अलपत्र परेकाको उद्धारलाई तीव्र बनाउन सरकारसँग आग्रह गर्दै प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउन माग गरिएको छ।
नेपाल शिक्षक संगठनले आफ्ना सबै नेताहरूलाई विपद् प्रभावित क्षेत्रमा परिचालित भई सहयोगमा जुट्न निर्देशन दिएको छ। साथै, प्रभावित नागरिकको खोज, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्नुका साथै घरबारविहीन र मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
संगठनका सबै तहका समितिहरूलाई बाढी प्रभावित नागरिकको सहयोगका लागि आर्थिक संकलन अभियान तीव्र बनाउनसमेत आह्वान गरिएको छ। राष्ट्रसेवक कर्मचारीको भदौ महिनाको तलबभत्ताबाट दुईदेखि १० दिन बराबरको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने सरकारी निर्णयको स्वागत गर्दै संगठनले शिक्षक तथा कर्मचारीलाई पनि राहत अभियानमा सहयोग गर्न अपिल गरेको छ।
अझै पनि प्रभावित क्षेत्रमा उद्धार हुन नसकेको, राहत सामग्री नपुगेको, बेपत्ताको खोजी हुन नसकेको तथा घाइतेको उपचारमा समस्या रहेको गुनासोप्रति सरकारको ध्यानाकर्षण गराउँदै संगठनले तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।
त्यस्तै, चीनतर्फ पुनः हिमताल फुटेको खबर प्राप्त भएकाले प्रभावित क्षेत्रमा थप सतर्कता अपनाउन पनि संगठनले सम्बन्धित सबैमा आग्रह गरेको छ।
