Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि पदाधिकारीले एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने

त्रिवि पदाधिकारीले एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने

  • 293
    SHARES

  • त्रिवि पदाधिकारीले एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने

    काठमाडौं, १७ भदौ। त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्।

    त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को भदौ १२ गते बसेको बैठकले रसुवाको रसुवागढी भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितका लागि विश्वविद्यालयको तर्फबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

    परिषद्को निर्णयअनुसार त्रिविका कुलपतिबाट नियुक्त पदाधिकारीले एक महिनाको पारिश्रमिक सहयोग गर्नेछन्। उक्त रकम २०८३ साल भदौ महिनाको तलब भुक्तानी गर्दा कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिनेछ।

    त्यस्तै, त्रिविअन्तर्गत कार्यरत अन्य शिक्षक तथा कर्मचारीबाट पनि तहअनुसार निश्चित दिन बराबरको पारिश्रमिक कट्टा गर्ने निर्णय भएको छ। प्राध्यापक, प्रशासक, सहप्राध्यापक तथा सहप्रशासक वा सोसरहका शिक्षक–कर्मचारीबाट १० दिनको, उपप्राध्यापक, उपप्रशासक, शाखा अधिकृत तथा प्रशिक्षक वा सोसरहबाट ७ दिनको पारिश्रमिक कट्टा गरिनेछ।

    यसैगरी मुख्य कार्यालय सहायकदेखि कार्यालय सहायक वा सोसरहका कर्मचारीबाट ५ दिनको तथा श्रेणीविहीन कर्मचारीबाट २ दिन बराबरको पारिश्रमिक कट्टा गरी कोषमा जम्मा गरिने त्रिविले जनाएको छ।

    त्रिवि रजिष्ट्रारको कार्यालय, आर्थिक प्रशासन महाशाखाले बुधबार जारी गरेको परिपत्रमार्फत विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण क्याम्पस, कार्यालय तथा निकायलाई परिषद्को निर्णय कार्यान्वयन गर्न जानकारी गराएको हो।

    भदौ १० गते आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा ठूलो जनधनको क्षति भएपछि राहत तथा पुनर्स्थापना कार्यमा योगदान पुर्‍याउने उद्देश्यले विश्वविद्यालयले यस्तो निर्णय गरेको जनाएको छ।

    images
    बुधवार, भाद्र १७ २०८३१२:५४:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार