आइतवार, भाद्र २१ २०८३
धादिङ । विद्यार्थीको विद्यालय छाड्ने दर बढ्दै गएको र सिकाइ उपलब्धिसमेत कमजोर बनेको भन्दै धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको २०८३ भदौ १८ गते बसेको बैठकले गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आइतबारदेखि शुक्रबारसम्म कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। गाउँपालिकाले जारी गरेको सूचनामा विभिन्न कारणले विद्यालय बन्द हुँदा विद्यार्थीको कक्षा छोड्ने दरमा वृद्धि भएको उल्लेख गर्दै शैक्षिक क्षतिको परिपूरणका लागि आइतबारसमेत विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको छ।
निर्णयअनुसार सार्वजनिक बिदाको दिनबाहेक आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा पठनपाठन सञ्चालन गर्नुपर्नेछ। यो व्यवस्था अर्को सूचना जारी नभएसम्म लागू हुने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले विद्यालय बन्दका कारण विद्यार्थीको नियमित सिकाइमा परेको असर न्यूनीकरण गर्दै सिकाइ उपलब्धि सुधार गर्न विद्यालय सञ्चालनको दिन बढाएको जनाएको छ।
यस निर्णयसँगै बेनीघाट रोराङका सामुदायिक तथा संस्थागत विद्यालयमा अब आइतबार पनि नियमित कक्षा सञ्चालन हुने भएको छ। स्थानीय तहले विद्यार्थीको विद्यालय निरन्तरता र सिकाइ उपलब्धिलाई आधार बनाएर आइतबारको बिदा हटाउने निर्णय गरेको हो।
