Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षक आन्दोलनका संघर्ष र उपलब्धि समेटिएको ‘शिक्षक आन्दोलनको इतिहास’ पुस्तक विमोचन

शिक्षक आन्दोलनका संघर्ष र उपलब्धि समेटिएको ‘शिक्षक आन्दोलनको इतिहास’ पुस्तक विमोचन

  • 266
    SHARES

  • शिक्षक आन्दोलनका संघर्ष र उपलब्धि समेटिएको ‘शिक्षक आन्दोलनको इतिहास’ पुस्तक विमोचन

    काठमाडौं । नेपालमा शिक्षक आन्दोलनका संघर्ष, उपलब्धि र विभिन्न कालखण्डका महत्वपूर्ण घटनालाई समेटिएको पुस्तक ‘शिक्षक आन्दोलनको इतिहास’ विमोचन गरिएको छ। नेपाल शिक्षक महासंघका निवर्तमान अध्यक्ष तथा हालै उमेरहदका कारण शिक्षण सेवाबाट निवृत्त भएका लक्ष्मीकिशोर सुवेदीद्वारा लिखित पुस्तक शनिबार राजधानीमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो।

    FB_IMG_1788746141966.jpg

    लेखककी आमा अम्बिका सुवेदी, नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशवप्रसाद भट्टराई, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी तथा नेपाल सरकारका पूर्वसचिव खगराज बराललगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए।

    ४६४ पृष्ठको पुस्तकमा २००७ सालमा नेपाल शिक्षक संघको स्थापनादेखि २०८२ सालसम्मको शिक्षक आन्दोलनको इतिहास समेटिएको छ। शिक्षक संघ–संगठनको विकास, विभिन्न समयमा भएका आन्दोलन, आन्दोलनका माग, सरकारसँग भएका वार्ता तथा सम्झौता र प्राप्त उपलब्धिका विषयमा पुस्तकमा खोजमूलक सामग्री प्रस्तुत गरिएको छ।

    पुस्तकमा पञ्चायतकालमा सक्रिय शिक्षक संघ–संगठन, २०३६ सालको शिक्षक आन्दोलन र त्यसबाट प्राप्त उपलब्धि, २०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि विकसित विभिन्न शिक्षक संघ–संगठन तथा त्यसपछिका पेशागत र राजनीतिक आन्दोलनका घटनाक्रम समेटिएका छन्।

    त्यसैगरी २०३६ सालदेखि २०८२ सालसम्म भएका शिक्षक आन्दोलनमा सरकारसँग भएका सहमति तथा सम्झौताका दस्तावेजलाई समेत पुस्तकमा समावेश गरिएको छ। यसले शिक्षक आन्दोलनका माग, संघर्ष र उपलब्धिको क्रमलाई दस्तावेजका रूपमा प्रस्तुत गरेको छ।

    पुस्तकमा विभिन्न समयमा भएका पेशागत तथा राजनीतिक आन्दोलन र घटनाक्रममा शहादत प्राप्त गरेका शिक्षकहरूको विवरणसमेत खोज तथा अभिलेखीकरण गरिएको छ। पुस्तकमा समावेश विवरणअनुसार विभिन्न आन्दोलनमा २२६ जना शिक्षक शहीद भएको उल्लेख गरिएको छ।

    पुस्तकमाथि टिप्पणी गर्दै नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशवप्रसाद भट्टराईले शिक्षक संघ–संगठन र शिक्षकको पेशागत आन्दोलनका सम्बन्धमा गहन खोज गरी प्राथमिक स्रोतसामग्री संकलन गरिएको बताए। उनले शिक्षक आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिबारे अध्ययन तथा अनुसन्धान गर्न चाहनेहरूका लागि पुस्तक महत्वपूर्ण स्रोत बन्ने धारणा राखे।

    नेपाल सरकारका पूर्वसचिव खगराज बरालले शिक्षा मन्त्रालयमा सहसचिव तथा सचिवका रूपमा रहँदा आफूले प्रत्यक्ष अनुभव गरेका शिक्षक आन्दोलन, सरकारसँग भएका वार्ता र सहमतिका प्रसंग स्मरण गरे। उनले शिक्षकका सेवासुविधा तथा पेन्सनलगायतका विषयमा निजामती कर्मचारीसँग रहेको विभेदबारे पनि चर्चा गरे।

    कार्यक्रममा नीलबाराही माध्यमिक विद्यालयकी प्रधानाध्यापक तथा महिला शिक्षक समाजकी अध्यक्ष जानुका नेपालले पुस्तकको उपयोगिताबारे प्रकाश पारिन्।

    नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, नेशनल प्याब्सनका सचिव मनोजकुमार श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक संगठनकी उपाध्यक्ष अम्बिका चापागाईँ, विश्लेषक अरुणकुमार सुवेदी तथा पत्रकार प्रकृति अधिकारीले शिक्षक आन्दोलनका विभिन्न पक्ष र अनुभव स्मरण गर्दै पुस्तक प्रकाशनका लागि शुभकामना व्यक्त गरे।

    लेखक सुवेदीले २०४४ सालमा शिक्षण पेसामा प्रवेश गरेका थिए। शिक्षणसँगै शिक्षकको पेशागत तथा संगठनात्मक आन्दोलनमा सक्रिय रहँदै आएका उनी भदौ १९ गते उमेरहदका कारण सेवाबाट निवृत्त भएका हुन्।

    नेपाल शिक्षक संघमा आबद्ध सुवेदीले नेपाल शिक्षक संघ काठमाडौं शाखाको अध्यक्ष तथा नेपाल शिक्षक युनियनको उपमहासचिवको जिम्मेवारी सम्हालेका थिए।

    नेपाल शिक्षक युनियन नेपाल शिक्षक महासंघमा विकसित भएपछि उनी महासंघको महासचिव हुँदै अध्यक्ष बनेका थिए। सेवा निवृत्त हुँदा उनी नेपाल शिक्षक महासंघका अध्यक्ष थिए।

    शिक्षक आन्दोलनमा लामो समय प्रत्यक्ष रूपमा जोडिएका सुवेदीले आफ्नो अनुभवसँगै विभिन्न दस्तावेज तथा स्रोत सामग्रीको अध्ययन गरी पुस्तक तयार गरेका हुन्।

    सुवेदी साहित्य क्षेत्रमा समेत सक्रिय छन्। उनको कथासंग्रह ‘तमोरको सुसेली’ यसअघि प्रकाशित भइसकेको छ भने अर्को कथासंग्रह प्रकाशोन्मुख रहेको जनाइएको छ।

    images
    सोमवार, भाद्र २२ २०८३०७:४६:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार