बिहिवार, भाद्र २५ २०८३
काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि कीर्तिपुर नगर प्याब्सनले २८ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ।
कीर्तिपुर नगर प्याब्सनअन्तर्गतका विद्यालय तथा नगर प्याब्सनको खाताबाट संकलित रकममध्ये रु. २१ लाख ७० हजार प्याब्सन काठमाडौं वेलफेयर फन्डमा जम्मा गरिएको छ। साथै, प्रधानमन्त्री राहत कोषमा समेत सहयोग गरिएको छ। दुवै माध्यमबाट गरी कीर्तिपुर नगर प्याब्सनको कुल योगदान रु. २८ लाख २८ हजार ६ सय ६१ पुगेको जनाइएको छ।
विपद्का कारण प्रभावित परिवारलाई राहत उपलब्ध गराउने र बाढीबाट क्षतिग्रस्त शैक्षिक तथा भौतिक संरचनाको पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम संकलन गरिएको हो।

नगर प्याब्सनले सहयोग अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने नगर अध्यक्ष तथा काब्यम पाठशालाका प्रिन्सिपल रवि भण्डारी, वरिष्ठ सल्लाहकार महेश श्रेष्ठसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यप्रति आभार व्यक्त गरेको छ।
त्यस्तै, राहत अभियानमा सहयोग गर्ने कीर्तिपुर नगरभित्रका विद्यालयका संस्थापक, प्रिन्सिपल, शिक्षक–कर्मचारी, विद्यार्थी तथा अभिभावकलाई समेत नगर प्याब्सनले धन्यवाद दिएको छ। विपद्को समयमा शैक्षिक क्षेत्र एकजुट भएर पीडितको उद्धार तथा पुनर्स्थापनामा सहयोग गर्नु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उदाहरण भएको नगर प्याब्सनले जनाएको छ।