Oct 02 2026 | २०८३, आश्विन १६ गते

भविष्यको जनशक्ति प्रक्षेपणसहित राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सुझाव

भविष्यको जनशक्ति प्रक्षेपणसहित राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सुझाव

  • 174
    SHARES

  • भविष्यको जनशक्ति प्रक्षेपणसहित राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सुझाव

    सुर्खेत, २६ भदौ । राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ लाई आगामी १५ देखि २० वर्षमा आवश्यक पर्ने जनशक्तिको प्रक्षेपणसहित परिमार्जन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

    प्याब्सन कर्णाली प्रदेश, सुर्खेतले आयोजना गरेको राष्ट्रिय पाठ्यक्रम प्रारूपसम्बन्धी सुझाव सङ्कलन कार्यक्रममा सहभागीहरूले बदलिँदो समय र भविष्यको आवश्यकता सम्बोधन गर्ने गरी पाठ्यक्रमलाई व्यावहारिक, सीपमूलक, रोजगारमुखी र जीवनोपयोगी बनाउनुपर्ने सुझाव दिएका हुन्। कार्यक्रममा ६३ जनाको सहभागिता रहेको थियो।

    IMG-20260911-WA0003.jpg

    सहभागीहरूले शिक्षाका राष्ट्रिय उद्देश्य र तिनको कार्यान्वयनबीच प्रभावकारी तालमेल हुनुपर्ने बताएका छन्। पाठ्यक्रम निर्माणमा मात्र केन्द्रित नभई यसको प्रभावकारी कार्यान्वयनलाई पनि समान प्राथमिकता दिनुपर्ने उनीहरूको सुझाव थियो।

    अन्तर्राष्ट्रिय अभ्यासको अनुसरण गर्दा नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक तथा भौगोलिक परिवेशलाई समेत आधार बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। नेपालकै आवश्यकता र सम्भावनालाई केन्द्रमा राखेर पाठ्यक्रम विकास गर्नुपर्ने उनीहरूको भनाइ थियो।

    प्रारम्भिक बालविकास तथा शिक्षालाई पाठ्यक्रममा स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने सुझावसमेत कार्यक्रममा उठेको छ। सामुदायिक र संस्थागत विद्यालयमा बालविकासको अभ्यासमा देखिएको भिन्नतालाई समेत पाठ्यक्रमले सम्बोधन गर्नुपर्ने सहभागीहरूले बताएका छन्।

    त्यस्तै, पाठ्यपुस्तकमा विद्यार्थीको कार्यघण्टाको तुलनामा विषयवस्तु र अभ्यासको मात्रा बढी रहेको भन्दै पाठ्यभार घटाउन तथा उमेरअनुकूल विषयवस्तु छनोट गर्न सुझाव दिइएको छ। कतिपय विषयवस्तु उमेरअनुसार जटिल भएकाले पाठ्यक्रम तथा पाठ्यपुस्तकको पुनरावलोकन आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।

    सबै विषयका पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण र विषयवस्तु छनोट प्रक्रियालाई थप समावेशी बनाउनुपर्ने सुझावसमेत दिइएको छ।

    कार्यक्रममा शिक्षकहरू नै पाठ्यक्रम तथा पाठ्यक्रम विकास केन्द्रका विषयमा पर्याप्त जानकार नरहेको विषय उठाउँदै पाठ्यक्रमसम्बन्धी प्रबोधीकरण र शिक्षकको क्षमता विकासलाई प्राथमिकता दिनुपर्ने सुझाव दिइएको थियो। पाठ्यक्रम कार्यान्वयनसँग मेल खाने गरी मूल्याङ्कन प्रणालीमा समेत सुधार आवश्यक रहेको सहभागीहरूले बताए।

    विद्यार्थीको समग्र विकासका लागि मानसिक स्वास्थ्य, खेलकुद, कला र सङ्गीतलाई अनिवार्य सिकाइ क्षेत्रका रूपमा समावेश गर्नुपर्ने सुझाव आएको छ। त्यस्तै, विद्यालय शिक्षाका सबै तहमा जीवनोपयोगी तथा व्यावसायिक सीपसँग सम्बन्धित विषयवस्तु समेटेर विद्यार्थीलाई भविष्यको रोजगारी र जीवनका लागि तयार पार्ने शिक्षा आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

    सरोकारवालाका सुझावलाई समेट्दै राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई आगामी पुस्ताको आवश्यकता, रोजगारीको बदलिँदो स्वरूप र भविष्यमा आवश्यक पर्ने जनशक्तिको मागअनुकूल बनाउनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो ।

    images
    शुक्रवार, भाद्र २६ २०८३०३:३५:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार