Oct 02 2026 | २०८३, आश्विन १६ गते

पाठ्यक्रममा एआई, सीप र संस्कारलाई प्राथमिकता दिन पानको सुझाव

पाठ्यक्रममा एआई, सीप र संस्कारलाई प्राथमिकता दिन पानको सुझाव

  • 430
    SHARES

  • पाठ्यक्रममा एआई, सीप र संस्कारलाई प्राथमिकता दिन पानको सुझाव

    काठमाडौं । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को पुनरावलोकनका लागि प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल (PAN) ले व्यवहारिक, जीवनोपयोगी, सीपमूलक, प्रविधिमैत्री र विद्यार्थीकेन्द्रित शिक्षालाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ।

    PAN ले राष्ट्रिय पाठ्यक्रम प्रारूप पुनरावलोकनका सन्दर्भमा सातै प्रदेशबाट सुझाव संकलन गरेको छ। यस क्रममा देशभरका विद्यालयका प्रधानाध्यापक, शिक्षाविद्, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति (SMC) का प्रतिनिधि तथा पाठ्यक्रम विज्ञसँग छलफल गरी सुझाव तथा पृष्ठपोषण लिइएको PAN ले जनाएको छ।

    IMG-20260916-WA0028.jpg

    PAN ले यसै क्रममा ३१ गते साँझ बृहत् अनलाइन बैठक आयोजना गरी १०० भन्दा बढी प्रधानाध्यापक, SMC प्रतिनिधि, विद्यार्थी, शिक्षक तथा शिक्षाविद्/विज्ञलाई सहभागी गराएर राष्ट्रिय पाठ्यक्रम प्रारूप पुनरावलोकनका विषयमा व्यापक सुझाव संकलन गरेको थियो। उक्त कार्यक्रमको अध्यक्षता PAN का वरिष्ठ उपाध्यक्ष हेरम्बरराज कँडेलले गरेका थिए भने महासचिव लक्ष्मण श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।

    यसअघि पनि PAN ले शिक्षा मन्त्रालयसँगको सहकार्य तथा समन्वयमा सातै प्रदेश तथा राष्ट्रियस्तरमा शिक्षा संवाद आयोजना गरेको थियो। छलफलबाट प्राप्त सुझाव तथा पृष्ठपोषणलाई एकीकृत गरी राष्ट्रिय पाठ्यक्रम प्रारूप पुनरावलोकनसम्बन्धी आफ्नो लिखित अवधारणा तयार गरिरहेको PAN ले जनाएको छ।

    छलफलमा सहभागीहरूले वर्तमान पाठ्यक्रमले बदलिँदो सामाजिक, आर्थिक, प्राविधिक तथा विश्व परिवेशलाई पर्याप्त रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। विद्यालय शिक्षालाई केवल परीक्षा र पाठ्यपुस्तकमा केन्द्रित नभई विद्यार्थीको जीवन, भविष्यको रोजगारी, सीप, प्रविधि, सिर्जनशीलता र सामाजिक जिम्मेवारीसँग जोड्नुपर्ने सुझाव दिइएको छ।

    PAN अध्यक्ष सुदाम गौतमले विद्यार्थीलाई केवल परीक्षा उत्तीर्ण गराउने उद्देश्यमा केन्द्रित नभई भविष्यका चुनौती सामना गर्न सक्ने सक्षम, सिर्जनशील, जिम्मेवार र आत्मनिर्भर नागरिकका रूपमा विकास गर्ने गरी पाठ्यक्रम पुनरावलोकन गर्नुपर्ने बताए।

    उनका अनुसार विद्यालय शिक्षाले विद्यार्थीमा आलोचनात्मक सोच, समस्या समाधान, सञ्चार, सहकार्य, नेतृत्व, सिर्जनशीलता र अनुकूलनशीलता जस्ता सीप विकास गर्नुपर्ने आवश्यकता छ। पाठ्यक्रम विद्यार्थीले परीक्षा दिएर बिर्सने विषयको सूची मात्र नभई जीवनमा प्रयोग गर्न सक्ने ज्ञान, सीप र दृष्टिकोण विकास गर्ने माध्यम बन्नुपर्नेमा छलफलको निष्कर्ष रहेको छ।

    PAN का वरिष्ठ उपाध्यक्ष हेरम्बरराज कँडेलले पाठ्यक्रम निर्माण तथा पुनरावलोकन प्रक्रियामा विद्यालयका कक्षाकोठामा प्रत्यक्ष रूपमा काम गरिरहेका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन पक्षको अनुभव र सुझावलाई प्राथमिकताका साथ समेटिनुपर्ने बताए। उनका अनुसार पाठ्यक्रम व्यवहारमा कार्यान्वयन गर्न सकिने, स्थानीय आवश्यकता र विद्यार्थीको वास्तविक सिकाइसँग जोडिने तथा भविष्यका चुनौतीलाई सम्बोधन गर्न सक्ने हुनुपर्ने आवश्यकता छ।

    एआई र डिजिटल साक्षरतालाई पाठ्यक्रममै जोड

    PAN ले तीव्र रूपमा विकसित भइरहेको कृत्रिम बुद्धिमत्ता (AI) र डिजिटल प्रविधिलाई विद्यालय शिक्षाबाट अलग राख्न नसकिने जनाएको छ।

    एआईको प्रयोग बढ्दै गएको वर्तमान सन्दर्भमा विद्यार्थीलाई प्रविधि प्रयोग गर्न सिकाउनु मात्र पर्याप्त नभई एआई साक्षरता, जिम्मेवार एआई प्रयोग, डिजिटल नागरिकता, साइबर सुरक्षा तथा कम्प्युटेसनल थिङ्किङ सम्बन्धी आधारभूत ज्ञान तहअनुसार पाठ्यक्रममा समेट्नुपर्ने सुझाव PAN को छ।

    विद्यालय तहदेखि नै विद्यार्थीलाई प्रविधिको सिर्जनात्मक र जिम्मेवार प्रयोगतर्फ उन्मुख गराउनुपर्ने तथा कोडिङ र डिजिटल सीपलाई विद्यार्थीको उमेर, आवश्यकता र सिकाइ स्तरअनुसार शिक्षणसँग जोड्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

    सीप र उद्यमशीलतामा विशेष जोड

    PAN ले विद्यालय शिक्षालाई रोजगारी प्राप्तिसँग मात्र नभई रोजगारी सिर्जना गर्न सक्ने क्षमतासँग समेत जोड्नुपर्ने धारणा अघि सारेको छ।

    विद्यालय तहदेखि नै जीवनोपयोगी सीप, व्यावसायिक ज्ञान, उद्यमशीलता तथा वित्तीय साक्षरतालाई प्रभावकारी रूपमा समेट्नुपर्ने सुझाव दिइएको छ। विद्यार्थीले आफ्नो रुचि, क्षमता र स्थानीय सम्भावनाअनुसार सीप विकास गर्न सक्ने वातावरण पाठ्यक्रमले निर्माण गर्नुपर्ने PAN को धारणा छ।

    त्यसैगरी STEM/STEAM शिक्षा, प्रयोगात्मक सिकाइ, अनुसन्धान, नवप्रवर्तन तथा सिर्जनात्मक परियोजनामा आधारित सिकाइलाई थप प्रोत्साहन गर्नुपर्ने सुझाव पनि आएको छ।

    नैतिक शिक्षा र संस्कारलाई पनि प्राथमिकता

    प्रविधि र आधुनिक सीपसँगै विद्यार्थीको चरित्र निर्माण, नैतिकता, संस्कार र सामाजिक उत्तरदायित्वलाई पनि पाठ्यक्रमको महत्वपूर्ण पक्ष बनाउनुपर्ने PAN ले जनाएको छ।

    नैतिक शिक्षा तथा मूल्यमा आधारित शिक्षालाई बलियो बनाउँदै विद्यार्थीमा अनुशासन, जिम्मेवारी, सहिष्णुता, सहकार्य र सामाजिक संवेदनशीलता विकास गर्ने विषयलाई पाठ्यक्रममा पर्याप्त स्थान दिनुपर्ने सुझाव दिइएको छ।

    जलवायु परिवर्तन र विपद् व्यवस्थापन पनि पाठ्यक्रममा

    नेपाल प्राकृतिक तथा जलवायुजन्य विपद्को जोखिममा रहेको सन्दर्भमा जलवायु परिवर्तन, वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी ज्ञान र सीप विद्यालय तहबाटै विकास गर्नुपर्ने सुझाव PAN ले दिएको छ।

    विद्यार्थीलाई जलवायु परिवर्तनका प्रभावबारे जानकारी गराउने मात्र नभई त्यससँग अनुकूलन गर्ने, जोखिम पहिचान गर्ने र विपद्का समयमा सुरक्षित व्यवहार अपनाउने व्यावहारिक सीपसमेत सिकाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

    शिक्षकको क्षमता विकासबिना पाठ्यक्रम सुधार अधुरो

    PAN ले पाठ्यक्रम परिवर्तनसँगै शिक्षकको तयारी, क्षमता विकास र पेशागत विकासलाई समान प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ। नयाँ पाठ्यक्रमले अपेक्षा गरेका सीप, प्रविधि र शिक्षण पद्धति कार्यान्वयन गर्न शिक्षकलाई आवश्यक तालिम, स्रोतसाधन तथा निरन्तर पेशागत विकासको अवसर उपलब्ध गराउनुपर्ने सुझाव दिइएको छ।

    विद्यालयको वास्तविक अवस्था र कक्षाकोठाको आवश्यकतालाई ध्यानमा राखेर पाठ्यक्रम कार्यान्वयन गर्न सक्ने गरी शिक्षकलाई सक्षम बनाइनुपर्ने PAN को धारणा छ।

    मूल्याङ्कन प्रणालीमा पनि परिवर्तन आवश्यक

    सहभागीहरूले पाठ्यक्रम मात्र परिवर्तन गरेर अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न नसकिने भन्दै मूल्याङ्कन प्रणालीमा समेत सुधार आवश्यक रहेको बताएका छन्।

    परीक्षामा आधारित मूल्याङ्कनको प्रभाव कम गर्दै विद्यार्थीको ज्ञान, सीप, व्यवहार, सिर्जनशीलता र समस्या समाधान गर्ने क्षमतालाई समेत मूल्याङ्कन गर्ने प्रणाली विकास गर्नुपर्ने सुझाव दिइएको छ।

    यसका लागि सक्षमतामा आधारित मूल्याङ्कन, प्रयोगात्मक कार्य, परियोजना, पोर्टफोलियो तथा निरन्तर मूल्याङ्कनलाई प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ।

    समावेशी र स्थानीय आवश्यकतामा आधारित पाठ्यक्रम

    PAN ले देशका सबै क्षेत्र, समुदाय र विद्यार्थीको विविधतालाई सम्बोधन गर्ने गरी समावेशी र समान अवसर सुनिश्चित गर्ने पाठ्यक्रम आवश्यक रहेको जनाएको छ।

    स्थानीय आवश्यकता, भाषा, संस्कृति, ज्ञान, सीप र सम्भावनालाई विद्यालय शिक्षासँग जोड्दै स्थानीय पाठ्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव पनि दिइएको छ। विद्यालय, अभिभावक, स्थानीय तह र समुदायबीचको सहकार्यलाई शिक्षा सुधारको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्नेमा समेत सहभागीहरूको जोड थियो।

    ‘बुक फ्री डे’ र ‘व्यागलेस डे’लाई प्रभावकारी बनाउनुपर्ने

    PAN ले विद्यार्थीलाई निरन्तर पुस्तक र लिखित गृहकार्यमा मात्र सीमित नराखी अनुभव, प्रयोग, खेल, सिर्जना र व्यवहारिक गतिविधिबाट सिक्ने अवसर बढाउनुपर्ने जनाएको छ।

    यसका लागि ‘बुक फ्री डे’ तथा ‘व्यागलेस डे’ जस्ता अभ्यासलाई औपचारिकतामा सीमित नराखी उद्देश्यपूर्ण र प्रभावकारी सिकाइ गतिविधिसँग जोड्नुपर्ने सुझाव दिइएको छ।

    १२ वटा थिमेटिक पेपर र अनुसन्धानका निष्कर्षलाई समेत आधार

    PAN ले राष्ट्रिय पाठ्यक्रम प्रारूप पुनरावलोकनका लागि सातै प्रदेशबाट प्राप्त सुझाव तथा पृष्ठपोषणका साथै १२ वटा थिमेटिक पेपर र विभिन्न अनुसन्धानका निष्कर्षलाई समेत आधार बनाएको जनाएको छ।

    संकलित सुझावहरूलाई विषयगत रूपमा एकीकृत गरी विद्यार्थीकेन्द्रित तथा व्यवहारिक शिक्षा, नैतिकता र संस्कार, एआई तथा डिजिटल साक्षरता, कोडिङ, सीप तथा उद्यमशीलता, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन, शिक्षक विकास, मूल्याङ्कन सुधार, समावेशी शिक्षा र स्थानीय पाठ्यक्रमलाई प्राथमिकतामा राखिएको छ।

    सोमबार लिखित अवधारणा पेश गरिँदै

    PAN ले देशभरका विद्यालय नेतृत्व, विद्यार्थी, शिक्षक तथा विज्ञबाट प्राप्त सुझावलाई अन्तिम रूप दिई राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ पुनरावलोकनसम्बन्धी आफ्नो लिखित अवधारणा सोमबार शिक्षा मन्त्रालय तथा राष्ट्रिय पाठ्यक्रम प्रारूप (NCF) सम्बन्धित निकायमा औपचारिक रूपमा पेश गर्ने तयारी गरेको छ।

    PAN महासचिव लक्ष्मण श्रेष्ठले सञ्चालन गरेको बृहत् अनलाइन छलफलमा देशभरका १०० भन्दा बढी प्रधानाध्यापक, SMC प्रतिनिधि, विद्यार्थी, शिक्षक, शिक्षाविद् तथा पाठ्यक्रम विज्ञहरूको सहभागिता रहेको थियो।

    राष्ट्रिय पाठ्यक्रम प्रारूप (NCF) पुनरावलोकनसम्बन्धी कार्यदलमा समेत PAN को सहभागिता रहेकाले सातै प्रदेश तथा राष्ट्रियस्तरमा गरिएको शिक्षा संवाद र विभिन्न चरणमा संकलित सुझाव तथा पृष्ठपोषणलाई कार्यदलमार्फत पाठ्यक्रम पुनरावलोकन प्रक्रियामा समेत प्रस्तुत गरिने PAN ले जनाएको छ।

    PAN ले देशभरबाट संकलन गरेका सुझाव, १२ वटा थिमेटिक पेपर, अनुसन्धानका निष्कर्ष तथा सरोकारवालाबाट प्राप्त पृष्ठपोषणलाई एकीकृत गरी तयार गर्ने अवधारणाले विद्यालय शिक्षालाई समयसापेक्ष, व्यवहारिक, सीपमूलक र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।

    PAN को निष्कर्षमा विद्यालय शिक्षाको आगामी दिशा ‘परीक्षाका लागि मात्र होइन, जीवन र भविष्यका लागि शिक्षा’ हुनुपर्नेमा जोड दिइएको छ।

    IMG-20260916-WA0027.jpg

    images
    बिहिवार, आश्विन १ २०८३०७:१४:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार