शुक्रवार, आश्विन २ २०८३
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५२ औँ दीक्षान्त समारोहमा सहभागी हुन इच्छुक विद्यार्थीका लागि अनलाइन आवेदन खुला गरिएको छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै २०८२ साल असार १ गतेदेखि २०८३ साल जेठ ३१ गतेसम्म स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको हो। सोही अवधिभित्र विद्यावारिधि (पीएचडी) तह पूरा गरेका विद्यार्थीले समेत आवेदन दिन सक्नेछन्।
इच्छुक विद्यार्थीले २०८३ असोज १ गतेदेखि कात्तिक १२ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा रहेको अनलाइन पोर्टलमार्फत भर्न सकिनेछ।
दीक्षान्त समारोहका लागि विद्यार्थीले आफू सहभागी हुन चाहेको केन्द्र आफैँ छनोट गर्नुपर्नेछ। त्रिविले बागमती, कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दीक्षान्त केन्द्र तोकेको छ। बागमती प्रदेश केन्द्रमा एमफिल, पीएचडी तथा टपर र पदक प्राप्त गर्ने विद्यार्थीसमेत सहभागी हुने व्यवस्था गरिएको छ।
एकपटक छनोट गरेको दीक्षान्त केन्द्र पछि परिवर्तन गर्न नपाइने भएकाले आफू सहभागी हुन सक्ने केन्द्र निश्चित गरेर मात्र छनोट गर्न त्रिविले आग्रह गरेको छ। आवेदन फाराम भर्दा एमआरपी साइजको सेतो पृष्ठभूमिको फोटो, नागरिकताको प्रमाणपत्र र उत्तीर्ण तहको ट्रान्सक्रिप्टको स्क्यान कपी अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ।
दीक्षान्त तथा प्रमाणपत्र शुल्क स्नातक तहका लागि रु. ३ हजार, स्नातकोत्तर तथा एमफिलका लागि रु. ३ हजार ५ सय र पीएचडीका लागि रु. ४ हजार तोकिएको छ। गाउन तथा स्कार्फका लागि सबै तहका विद्यार्थीले रु. २ हजार ५ सय धरौटी बुझाउनुपर्नेछ।
दीक्षान्त समारोहमा बढीमा दुई जना अभिभावक सहभागी गराउन सकिनेछ। प्रत्येक अभिभावकका लागि रु. ४ सय शुल्क लाग्नेछ। त्रिविको लोगो अंकित प्रमाणपत्र फोल्डर लिन इच्छुक विद्यार्थीले थप रु. ५ सय शुल्क तिर्नुपर्नेछ।
शुल्क नेपाल बैंक लिमिटेड वा ग्लोबल आइएमई बैंक लिमिटेडमार्फत अनलाइन बैंकिङबाट मात्र भुक्तानी गर्न सकिने त्रिविले जनाएको छ। शुल्क भुक्तानीपछि प्राप्त हुने रसिद तथा ट्रान्जेक्सन आईडी सुरक्षित राख्नसमेत कार्यालयले आग्रह गरेको छ।
दीक्षान्त समारोहको विस्तृत कार्यक्रम र स्थान भने पछि प्रकाशित गरिने त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।