सोमवार, श्रावण १८ २०७८
काठमाडौं :कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका सबै परिक्षा स्थगित भएको छ । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको भन्दै निकट भविष्यमा सञ्चालन हुन लागिरहेको कक्षा १२ को सहित विभिन्न विश्वविद्यालयका परीक्षासम्बन्धी कार्यक्रम स्थगन गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार भर्चुअल रूपमा गरिएको पत्रकार सम्मेलनमा ‘सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना’ सार्वजनिक गर्ने क्रममा कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएकोले परीक्षा सम्बन्धी सबै कार्यक्रम स्थगन गरिएको बताएका हुन् ।
स्थगन हुने परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्ब उचित निर्णय लिने पनि उनले बताएका छन् ।
यसअघि कक्षा १२ को परीक्षाका लागि साउन ३१ भदौ ९ गतेसम्म हुने भनी तालिका पनि सार्वजनिक भइसकेको थियो । विद्यार्थीले होम सेन्टरबाटै १०० पूर्णङ्कको परीक्षा दिने व्यवस्था गरिएको थियो ।
जेठ २६ गते तय भएको कक्षा १२ परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो ।
स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठ को ट्विट !
