मंगलवार, आश्विन ६ २०८३
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका कार्यक्रममा सहभागी हुने सामुदायिक विद्यालयका शिक्षकप्रति निगरानी बढाई आवश्यक कारबाही गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।
मन्त्रालयको विद्यालय शिक्षा शाखाले २०८३ असोज ६ गते जारी गरेको निर्देशनमा बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट, सल्यानलगायत जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भइरहेको समाचार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सार्वजनिक भएको उल्लेख गरिएको छ।
शिक्षकहरू राजनीतिक दलका गतिविधिमा सहभागी हुनु शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) मा रहेको कानुनी प्रावधानविपरीत हुने मन्त्रालयले जनाएको छ। मन्त्रालयले त्यस्ता गतिविधिबारे थप खोजबिन तथा निगरानी गर्न शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ। साथै, स्थानीय तहसँग समन्वय गरी आचारसंहिता उल्लंघन गर्ने शिक्षक पहिचान गर्न भनिएको छ।
आचारसंहिता उल्लंघन गरेको पाइएमा शिक्षा नियमावली, २०५९ को नियम १३७ को खण्ड (ग) तथा नियम १४३ बमोजिम आवश्यक कारबाहीको व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयका उपसचिव लिलानाथ पोखरेलद्वारा जारी निर्देशनमा उक्त व्यवस्था मन्त्रालयको २०८३ असोज ६ गतेको निर्णयअनुसार गरिएको उल्लेख छ।
शिक्षकहरूलाई राजनीतिक दलका कार्यक्रममा सहभागी हुन रोक लगाउने कानुनी व्यवस्थाको कार्यान्वयनलाई मन्त्रालयले पछिल्लो निर्देशनमार्फत थप कडाइ गर्न खोजेको देखिन्छ। अब शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहले शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी तथा आवश्यक कारबाही अघि बढाउनेछन्।
