मंगलवार, आश्विन ६ २०८३
काठमाडौं । बालाजु–१६, नेपालटारस्थित नेशनल मोडल इङ्लिस सेकेन्डरी स्कुलले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित पीडितका लागि २ लाख ३६ हजार १ सय ११ रुपैयाँ राहत सहयोग गरेको छ।
विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालयको तर्फबाट संकलन गरिएको उक्त रकम बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग गरिएको विद्यालयले जनाएको छ।

विद्यालयले उपलब्ध गराएको विवरणअनुसार १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्याब्सन काठमाडौं वेलफेयर फन्ड र १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको छ।
त्यस्तै, विद्यालयको एलकेजीमा अध्ययनरत छात्रा रियान्सी रोकायका बुबा रत्नबहादुर रोकायका परिवारलाई २५ हजार रुपैयाँ सहयोग गरिएको छ। कैलाश मानसरोवर यात्राका क्रममा रसुवाको टिमुरे पुगेपछि रोकाय हालसम्म परिवारको सम्पर्कमा नआएको विद्यालयले जनाएको छ।

विद्यालयका अनुसार रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ।
विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै विद्यालयले विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सहभागितामा राहत रकम संकलन गरेको जनाएको छ।

विद्यालयले आगामी दिनमा पनि विपद् प्रभावित तथा समस्यामा परेका समुदायलाई आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।