शनिवार, आश्विन १७ २०८३
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय, बल्खुले वार्षिक परीक्षा प्रणालीअन्तर्गतका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य रूपमा जडान गर्न निर्देशन दिएको छ। त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको २०८३ भदौ ३ गते बसेको बैठकको निर्णयअनुसार परीक्षा केन्द्रहरूले परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य देखिने गरी सीसी क्यामरा जडान गर्नुपर्ने भएको हो।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार जडान गरिने क्यामराले कम्तीमा डेढ महिनासम्मको दृश्य रेकर्ड गर्न सक्ने क्षमता हुनुपर्नेछ। साथै, उक्त सीसी क्यामराको अनुगमनको पहुँच सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयलाई उपलब्ध गराउनुपर्नेछ।
परीक्षा सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र निगरानीयोग्य बनाउन यस्तो व्यवस्था गरिएको त्रिविले जनाएको छ।
कार्यालयले तोकिएको व्यवस्थापन नगर्ने परीक्षा केन्द्रलाई आगामी परीक्षाका लागि परीक्षा केन्द्र परिवर्तन गर्न सकिने चेतावनीसमेत दिएको छ।
परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा सञ्चालनमा सहभागी हुने सम्बन्धित सबै परीक्षा केन्द्रलाई तोकिएको व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन गर्न सूचित गरेको छ।
