सोमवार, कार्तिक १० २०८३
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार आयोजित उद्घाटन समारोहमा प्रधानमन्त्री शाहले अम्पायरलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन्।
तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने भएका छन्। टस जितेको लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले ब्याटिङबाट खेल सुरु गरेको छ।
गत संस्करणको फाइनलमा पनि यी दुई टोली नै भिडेका थिए। त्यस खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै पहिलोपटक एनपीएलको उपाधि जितेको थियो। सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा पुगेको टोली हो। यसपटक उद्घाटन खेलमै दुई टोलीबीच पुनः प्रतिस्पर्धा भएको हो।

आठ टोलीको प्रतिस्पर्धा
एनपीएलको तेस्रो संस्करणमा आठ फ्रेन्चाइज टोली सहभागी छन्। लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँगै विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगितामा कुल ३२ खेल हुनेछन्। लिग चरणपछि प्लेअफका खेल सञ्चालन हुनेछन् भने फाइनल खेल आगामी नोभेम्बर २१ अर्थात् मङ्सिर ५ गते हुनेछ। प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछन्।
यसपटक पुरस्कार पनि बढ्यो
एनपीएलको तेस्रो संस्करणमा पुरस्कार राशि पनि बढाइएको छ। प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ। तेस्रो र चौथो हुने टोलीले क्रमशः ४० लाख र ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
गत संस्करणमा विजेता लुम्बिनीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो। यसपटक पुरस्कार राशि बढेसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मकता र व्यावसायिक आकर्षण पनि थप बढेको छ।
अन्तर्राष्ट्रिय खेलाडीको आकर्षण
तेस्रो संस्करणमा विभिन्न अन्तर्राष्ट्रिय चर्चित खेलाडीको सहभागिताले पनि एनपीएललाई थप आकर्षक बनाएको छ। काठमाडौं गोर्खाजबाट पूर्वअस्ट्रेलियाली कप्तान डेभिड वार्नर, पोखरा एभेन्जर्सबाट बंगलादेशका शाकिब अल हसन तथा अन्य टोलीबाट विभिन्न देशका अनुभवी खेलाडी सहभागी छन्।
सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका शर्फेन रदरफोर्ड तथा कर्णाली याक्समा दक्षिण अफ्रिकाका डेभिड मिलरलगायत खेलाडी आबद्ध छन्। विराटनगर किङ्समा आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकाजस्ता खेलाडीसमेत रहेका छन्।
पहिलोपटक डीआरएस
एनपीएलको तेस्रो संस्करणको अर्को महत्वपूर्ण विशेषता डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को प्रयोग हो। नेपालमा आयोजना हुने प्रतियोगितामा पहिलोपटक डीआरएस प्रयोग हुन लागेको हो। यसले अम्पायरको निर्णयमा थप प्रविधिगत सहायता पुग्ने अपेक्षा गरिएको छ।
डीआरएसमार्फत एल्बीडब्लू, रनआउट, स्टम्पिङ, फ्रन्टफुट नो–बललगायतका निर्णय पुनरावलोकन गर्न सकिने व्यवस्था गरिएको छ।
एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटलाई व्यावसायिक रूपमा थप बलियो बनाउनुका साथै घरेलु खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।