Oct 08 2026 | २०८३, आश्विन २२ गते

प्याब्सन क्रिकेट लिगको विजेता ट्रफी हस्तान्तरण, आगामी संस्करण झनै भव्य र व्यवस्थित हुने

प्याब्सन क्रिकेट लिगको विजेता ट्रफी हस्तान्तरण, आगामी संस्करण झनै भव्य र व्यवस्थित हुने

  • 81
    SHARES

  • प्याब्सन क्रिकेट लिगको विजेता ट्रफी हस्तान्तरण, आगामी संस्करण झनै भव्य र व्यवस्थित हुने

    काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौंले आयोजना गरेको प्याब्सन क्रिकेट लिग (पीसीएल) को पहिलो संस्करणका विजेता टोलीलाई ट्रफी हस्तान्तरण गरिएको छ। ट्रफी हस्तान्तरणसँगै प्याब्सन काठमाडौंले आगामी संस्करणलाई थप भव्य, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने तयारी थालेको जनाएको छ।

    प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले पहिलो संस्करणबाट प्राप्त अनुभवलाई आधार बनाएर आगामी पीसीएललाई थप प्रभावकारी बनाउने बताए। विद्यालय तहबाटै क्रिकेट प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले सुरु गरिएको पीसीएललाई नियमित विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताका रूपमा अघि बढाउने योजना रहेको उनले बताए।

    20261006_172621~2.jpg

    उनका अनुसार पीसीएल केवल प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम नभई विद्यालय तहमा रहेका प्रतिभावान् खेलाडीलाई पहिचान गरी उनीहरूलाई प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुग्ने अवसर प्रदान गर्ने अभियान हो। पहिलो संस्करणमा काठमाडौंसहित विभिन्न प्रदेशका आठ टोली सहभागी भएका थिए।

    प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी ‘ड्रिम टिम’ निर्माण गरिएको छ। त्यसैले आगामी संस्करणमा प्रतियोगिताको व्यवस्थापन, खेलाडीको प्रशिक्षण तथा प्रतिस्पर्धात्मक वातावरणलाई अझ बलियो बनाउने तयारी रहेको अध्यक्ष भट्टले बताए।

    प्याब्सनका उपाध्यक्ष तथा एसएभी विभाग इन्चार्जले पीसीएलले विद्यार्थी तथा युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने र क्रिकेटमा करियर निर्माण गर्ने अवसर प्रदान गरेको बताए। प्रतियोगितामा खेलाडीले देखाएको अनुशासन, मेहनत र प्राविधिक क्षमताले पीसीएलको महत्व थप पुष्टि गरेको उनको भनाइ छ।

    उनका अनुसार आगामी दिनमा उत्कृष्ट खेलाडी छनोट गरी प्याब्सन काठमाडौंको नेतृत्वमा ‘ड्रिम टिम’ निर्माण गर्ने र नेपालका अनुभवी तथा भेट्रान क्रिकेटरसँगको समन्वयमा खेलाडीलाई प्रशिक्षण तथा मार्गदर्शन दिने तयारी भइरहेको छ।

    20261006_172439(0)~2.jpg

    पीसीएलका टिम म्यानेजर खेम थापाले पहिलो संस्करणमा आफ्नो टोली च्याम्पियन बने पनि त्यसको श्रेय कुनै एक व्यक्ति वा कप्तानलाई मात्र दिन नमिल्ने बताए। सम्पूर्ण खेलाडी, व्यवस्थापन टोली र सहयोगीहरूको सामूहिक मेहनतबाट सफलता प्राप्त भएको उनको भनाइ छ।

    थापाले पीसीएलले युवा खेलाडीलाई माथिल्लो स्तरको क्रिकेटमा पुग्ने आधारसमेत तयार गरिरहेको बताए। पहिलो संस्करणको फाइनलमा पुगेको लुम्बिनी टोलीका कप्तान समीरजंग थापुरी अहिले लुम्बिनी लायन्सको एनपीएल क्याम्पमा पुग्नु पीसीएलका लागि सकारात्मक उपलब्धि भएको उनले उल्लेख गरे।

    उनले आगामी संस्करणका लागि आठवटै टोलीबाट प्रतिभाशाली खेलाडी छनोट गरी करिब १६ सदस्यीय ‘ड्रिम टिम’ निर्माण गर्ने योजना रहेको बताए। छनोट भएका खेलाडीलाई नियमित प्रशिक्षणसँगै थप प्रतिस्पर्धात्मक खेल खेलाउने तथा सम्भावना भए भारतको राम्रो क्रिकेट एकेडेमीमा समेत प्रशिक्षणका लागि लैजाने तयारी भइरहेको उनले जानकारी दिए।

    “आगामी संस्करणका लागि आठवटै टोलीबाट प्रतिभाशाली खेलाडी खोज्छौँ। करिब १४ प्लस २ गरी १६ जना खेलाडी छनोट गर्ने योजना छ,” थापाले भने, “उनीहरूलाई बिहान प्रशिक्षण र बेलुका खेल खेलाउने वातावरण बनाउनेछौँ। पाँच–छ वटा खेल खेल्ने अवसर दिन सकियो भने उनीहरूले धेरै सिक्न सक्छन्।”

    उनका अनुसार बागमती, काठमाडौं, लुम्बिनी, मधेस, कोशी, सुदूरपश्चिम र गण्डकीलगायत क्षेत्रबाट प्रतिभाशाली खेलाडी समेटेर टोली निर्माण गर्ने तयारी छ। आठवटै टोलीबाट कम्तीमा एक जना खेलाडी ‘ड्रिम टिम’मा समावेश गर्ने लक्ष्य रहेको उनले बताए।

    कार्यक्रमको सञ्चालन प्याब्सन काठमाडौं जिल्ला सचिव कृष्ण भण्डारीले गरेका थिए। ट्रफी हस्तान्तरण कार्यक्रममा प्याब्सन काठमाडौंका उपाध्यक्ष सूर्यबहादुर भण्डारीसहित जिल्ला पदाधिकारी, सदस्य तथा विभिन्न नगरका प्रमुखहरूको उपस्थिति थियो।

    पहिलो संस्करणको सफलताबाट उत्साहित प्याब्सन काठमाडौंले आगामी संस्करणमा प्रतियोगिताको दायरा विस्तार गर्दै विद्यालय तहका क्रिकेट प्रतिभालाई थप अवसर दिने तयारी गरेको छ।

    images
    बिहिवार, आश्विन २२ २०८३०६:४८:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार