शनिवार, भाद्र ५ २०७८
काठमाडौं - माध्यमिक तह कक्षा १२ को परीक्षा स्थगित गरेपछि कसरी र कहिले सञ्चालन गर्ने अन्यौलताको बिचमा राष्ट्रिय परिक्षा बोर्डले भने दशै अगाडि परिक्षा संचालन गर्ने तयारी गरिरहेको छ।
हालै +2 का विद्यार्थीलाई समेत कोभिड विरुद्धको खोप लगाउन सुरु भैसकेको र परिक्षा संचालन गर्न सहज हुने स्थिति सिर्जना भएको भन्दै बोर्ड ले यस्तो निर्णय गरेको हो।
परिक्षा संचालन बारे शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड निर्णय लिने तयारी गरिरहेको छन्। विद्यार्थीलाई कोरोना भाइरसको खोप दिएलगत्तै परीक्षा गर्ने तयारी भएको हो ।
यसबिच प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरुले कक्षा १२ को परीक्षा पुनः सञ्चालन गर्न सरकारलाई सुझाव समेत दिएका छन् ।
कोरोना भाइरसको संक्रमण बढेको भन्दै साउनको अन्तिमबाट सुरु गर्ने भनिएको परीक्षा स्थगित गरिएको थियो । सीसीएमसीको सिफारिश निर्देशन अनुसार बोर्डले परीक्षा रोकेको थियो । त्यसबाट लाखौं विद्यार्थी प्रभावित भए । परीक्षाका लागि तयार भइसकेका विद्यार्थीहरु निराश भए ।
परिक्षा दशै अगावै गरिए पनि होमसेन्टर बाटै हुने सम्भावना रहेको छ। तर परीक्षा आफू अध्ययन गरेको विद्यालयबाटै हुने या अन्य सेन्टरबाट गर्ने अन्यौल छ ।
कक्षा १२ को परिक्षाबारे संसद समितिमा पूर्वशिक्षामन्त्री समेत रहेका सांसद गिरिराजमणि पोखरेलले जनस्वास्थ्यको मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न निर्देशनको सुझाव दिए । उनले विद्यार्थीको भविष्यलाई अन्यौलमा नराख्न भने ।
त्यसैगरी सांसद जीवनराम श्रेष्ठले र मानबहादुर विश्वकर्माले पनि परीक्षा तत्काल सञ्चालन गर्न जोड दिए । उनिहरुले जनस्वास्थ्य मापदण्ड ख्याल राख्दै विद्यार्थीलाई गृह जिल्लामै होमसेन्टर दिएर परीक्षा सञ्चालन गर्न सुझाव दिए ।
सांसदहरुको सुझावसमेतलाई ध्यानमा राखेर परीक्षा असोज पहिलो साता भित्र गर्ने तयारी चलिरहेको परिक्षा बोर्ड ले जनाएको छ ।