बुधवार, भाद्र ९ २०७८
तनहुँ- ४९ बिद्यालय रहेको तनहुँ जिल्लाको व्यास नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका विद्यालयलाई प्रति रु. एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
नगरपालिकाको मंगलबार बसेको कार्यपालिकाको बैठकले प्रति विद्यालय रु एक - एक लाखका दरले रु ४९ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।
बिद्यालय प्रविधिमैत्री कार्यका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
नगरबाट उपलब्ध गराइएको रकमबाट विद्यालयले आवश्यक प्रविधि खरिद गर्नेछन् । “यस कार्यका लागि विद्यालयलाई प्रस्ताव पेश गर्न आह्वान गरेका थियौँ, विद्यालयले पेश गरेको प्रस्तावका आधारमा सबै विद्यालयलाई रु एक लाख उपलब्ध गराउने निर्णय भएको छ”, प्रबक्ता श्रेष्ठले भने ।
त्यसैगरी नगरपालिकाले यही भदौ १३ गतेदेखि प्रत्यक्ष कक्षा सञ्चालन गर्ने गरी जिल्ला सङ्कट व्यवस्थापन केन्द्रमा सिफारिस गर्ने निर्णय समेत गरेको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि, २०७८ बमोजिम जोखिम क्षेत्रको विश्लेषण गरी लकडाउन गर्ने र विद्यालयमा सकभर अनलाइन कक्षा सञ्चालन हुन नसकेमा २५ जनाभन्दा बढी कक्षामा नरहने गरी विद्यालय खुलाउने तयारी गरिएको हो ।
“सकेसम्म अनलाइन नै सञ्चालन गर्ने हो, तर अनलाइन कक्षा सञ्चालन हुन नसक्ने विद्यालयका हकमा २५ जना विद्यार्थी राखेर पठनपाठन शुरु गराउन समितिमा सिफारिस गरिएको छ”, श्रेष्ठले भने ।
त्यसैगरी बैठकले नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण बेरोजगार महिलालाई उद्यमशीलता अनुदान उपलब्ध गराउन भदौ महिनाभित्र वडाको सिफारिससहित प्रस्ताव पेश गर्न आह्वान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि रु २५ लाख बजेट विनियोजन गरिएको छ । उक्त नगरपालिका अन्तर्गत वडा नं ६, १०, ११, १३ र १४ मा उक्त कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।