शुक्रवार, भाद्र ११ २०७८
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कोभिड– १९ को जोखिमका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी गरेको छ।
देशैभरी विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गराउने व्यवस्था गरेपछि बोर्डले परीक्षा सञ्चालनको तयारी गरिरहेको बोर्डका सदस्य सविच दुर्गा अर्यालले बताए।
यस अघि ‘बोर्डले सरकारसँग विद्यार्थीलाई खोप उपलब्ध गराउन माग गरेको थियो,’ उनले भने, ‘सोही अनुसार पौने चार लाख विद्यार्थीलाई मन्त्रालयले खोपको व्यवस्था गरिसकेको छ। उनका अनुसार अबको एक साताभित्र परीक्षाको नयाँ तालिका सार्वजनिक गर्ने गृहकार्य भइरहेको छ।
विद्यार्थीको भौतिक उपस्थितमै तीन घन्टाको परीक्षा सञ्चालन गरिने तयारी छ।’ उनकाअनुसार परीक्षा केन्द्र तोक्ने, जनशक्ति व्यवस्थापन, प्रश्नपत्र तयारी, ढुवानी तथा केन्द्राध्यक्षलाई परीक्षा सञ्चालन र व्यवस्थापनबारे अभिमुखिकरण गर्ने लगायतका सम्पूर्ण कार्य यसअघि नै सम्पन्न भएकाले परीक्षा सञ्चालन गर्न थप सहज हुने बोर्डको भनाइ छ।
‘कक्षा १० सम्म सञ्चालन भएका देशभरि ११ हजार ६ सय विद्यालय छन्। कक्षा १२ सञ्चालन भएका ४ हजार ३१५ विद्यालय छन्,’ सदस्य सचिव अर्यालले भने, ‘कक्षा १२ का धेरै विद्यार्थी भएकाले बोर्डले कक्षा १० र १२ सञ्चालन भएका सबै विद्यालयलाई परीक्षा केन्द्र बनाउने तयारी गरेको छ।’ स्वास्थ्य मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गरिने बोर्डको भनाइ छ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बिहीबार स्वास्थ्य तथा शिक्षा समितिको बैठकमा कक्षा १२ का सबै विद्यार्थीलाई खोपको व्यवस्था गर्ने काम भइरहेको जानकारी दिए।
‘जापानबाट प्राप्त भएको १६ लाख डोज खोपमध्ये कक्षा १२ का विद्यार्थीलाई आवश्यकताको आधारमा उपलब्ध गराइरहेका छौं,’ स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने, ‘सबै विद्यार्थीलाई खोप पुग्छ त्यसैले अब भदौ अन्तिम साता परीक्षा सञ्चालन गर्ने तयारी छ।’
नागरिक दैनिक