आइतवार, भाद्र १३ २०७८
काठमाडौ - गोकर्णेश्वर नगरपालिकाले पालिका भित्र रहेका विद्यालयहरु मंगलबारदेखि भौतिक उपस्थितिमा सञ्चालन गर्ने निर्णय गरेको छ।
बढ्दो कोभिड जोकिमका कारण लामो समयदेखि बन्द भएका विद्यालयहरु भदौ१५ गतेबाट भौतिक रुपबाटै सञ्चालन गर्नका लागि नगरपालिकाले निर्णय गरेको हो। हाल यस पालिकाभित्र सामुदायिक १६ वटा र संस्थागत ९१ वटा विद्यालय रहेको र ४० हजार विद्यार्थी अध्ययन गरिरहेको नगरपालिकाले जनाएको छ।
पालिकाले एक सुचना जारी गर्दै लामो समयदेखि विद्यार्थीहरु घरमै रहँदा उनीहरुको पठनपाठनमा समस्या भएपछि सरोकारवालाहरुले भौतिक उपस्थितिमै कक्षा सञ्चालनको माग गरेका र सोही माग अनुसार नगरपालिकाले मंगलबारदेखि विद्यालय सञ्चालन गर्न पाउने गरी निर्णय गरेको बताइएको छ।
नगरपालिकाको शिक्षा शाखाका अधिकृत टेकेन्द्र ढकालले आइतबार नगर शिक्षा समितिको बैठक बसी १५ गतेबाट विद्यालय सञ्चालन गर्नका लागि अनुमति दिने निर्णय भएको जानकारी दिए।
उनले गत ११ गते शिक्षाका सरोकारवाला, स्थानीय राजनीतिक दलहरुसँगको छलफलले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नुपर्ने माग भएको र सोही भेलाले गरेको सिफारिशका आधारमा विद्यालय सञ्चालन गर्न लागिएको बताए।
उनका अनुसार ‘विद्यालय स्वयम्ले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने प्रावधानसहित विद्यालय खोल्नका लागि अनुमति दिएको र त्यो प्रावधान अनुसार नगरे निमायनुसार हामी कारबाही गर्ने छ।
कोरोना संक्रमणको दर बढिरहे पनि अभिभावक तथा शिक्षाका सरोकारवालाहरुको दबाबका कारण नगरपालिकाले सो निर्णय गरेको नगरपालिकाको प्रशासन शाखा प्रमुख टंकनाथ घिमिरेले बताए।
उनले विद्यालय अल्टरनेटिभ तरिकाले सञ्चालन गर्ने, विद्यार्थीलाई अभिभावकले नै स्कुलसम्म पुर्याउने र अभिभावक नै लिन आउने, घरबाटै खाजाको व्यवस्था गर्ने, स्कुल बसहरु अनिवार्य रुपमा स्यानिटाइज गर्ने, कक्षाहरुमा भौतिक दूरी कायम गर्ने, साबुन पानीको बन्दोबस्त गरी बेलाबेला हात धुन लगाउनु पर्ने शर्तमा विद्यालय सञ्चालनको लागि स्वीकृत दिएको बताए।
बिद्यालय संचालन सम्बन्धि नगरपालिकाले जारी गरेको सूचना यस्तो छ।
