सोमवार, भाद्र १४ २०७८
हुम्ला- जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी) हुम्लाले लामो समय देखि बन्द रहेका जिल्ला भरिका शिक्षण सँस्थामा पठन पाठन सुचारु गर्ने निर्णय गरेको छ ।
कोभिड संक्रमण जोखिम कम भएको र विद्यालय खुलाउनुपर्ने माग सबैतिरबाट आईरहेका बेला केन्द्रको सोमबार बसेको बैठकबाट बिद्यालय खुलाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सबैतिरबाट विद्यालय खुलाउनु पर्ने माग आइरहेको र कोरोना संक्रमणको दर पनि घटेको देखिएपछि केन्द्रको बैठकबाट विद्यालय खुलाउने निर्णय गरिएको बताउनुभयो । उहाँले सबै गाउँपालिकामा कोरोना संक्रमण घट्दो क्रममा रहेकोले जिल्ला कोभिड ब्यबस्थापन केन्द्रको बैठकमा छलफलपछि विद्यालय खुलाउने निर्णय गरेको बताउनुभयो ।
जिल्लामा सबै क्षेत्र खुला रहेको बेला विद्यालय मात्र बन्द गर्न नहुने चौतर्फी दबाब आई रहेको थियो । प्रजिअ आचार्यले स्मार्ट लकडाउन कार्य विधि २०७८ ले पनि सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन गर्न सकिने कुरा उल्लेख गरेको कारण केन्द्र जिल्लामा विद्यालय खुलाउने निष्कर्षमा पुगेको बताउनुभयो ।
केन्द्रको निर्णयपछि गाउँपालिकाले विद्यालय खुलाउँदा कोरोनाको अवस्था मूल्याङ्कन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्ने वातावरणका तयार भएपछि विद्यालय सुचारु गर्न सक्ने बाटो खुलेको छ ।
हुम्ला जिल्लाका सात वटा गाउँपालिकामा १३७ वटा सामुदायिक विद्यालय छन् भने केही निजी विद्यालय पनि रहेका छन् । यता नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका दुई वटा गाउँमा भने कोरोनाको अवधिमा पनि विद्यालयहरु सुचारु रहेका थिए ।