बिहिवार, भाद्र ३१ २०७८
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दशै अगावै विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार सरोकारवाला संगठनहरुसंगको छलफलमा कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्ने निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र प्याब्सन तथा एनप्याब्सन, अभिभावकहरु, शिक्षा तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थितिमा भएको छलफलमा हतारमा विद्यालय नखोल्न सहमति भएको हो।
मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेल का अनुसार कोभिड -१९ जोखिम कायम रहेको र चाड पर्वको नजिकिदो समयमा भिडभाड बढ्ने भएकोले काठमाडौँ उपत्यकाका विद्यालयमा दशैंअघि भौतिक उपस्थितिमा पठनपाठन नगर्न निर्देशन दिएको बताए।
छलफलमा स्वास्थ्य मन्त्रालयका अधिकारी, शिक्षा सचिव, सीसीएमसीका अधिकारी र शिक्षा क्षेत्रसँग सरोकार राख्ने विभिन्न व्यक्तिहरु सहभागी थिए । कार्यक्रममा सहभागी भएका एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले थोरै विद्यार्थी भएका विद्यालय मापदण्ड अपनाएर खोल्ने र धेरै विद्यार्थी भएको विद्यालय नखोल्ने सहमति भएको बताउनुभयो ।