सोमवार, आश्विन ४ २०७८
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीलाई केन्द्रबाट नै तलब खुवाउन शिक्षा मन्त्रालय र अर्थ मन्त्रालय बिच छलफल भएको छ।
मन्त्रालयका अनुसार स्थानीय तहलाई प्रदान गर्दै आएको अनुदान कटौति गरेर भएपनि शिक्षक कर्मचारीलाई तलब खुवाउन औपचारिक रुपमा छलफल सुरु गरेको हो ।
छलफल सकारात्मक भएपनि शिक्षा मन्त्रालय मन्त्री विहीन हुँदा निर्णय लिनमा समस्या भएको शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
शिक्षा मन्त्रालय र अर्थमन्त्रालय विच बजेट विधयेक पास गराएरै भएपनि दशैँ अगावै बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको वृद्धि भएको तलब उपलब्ध गराउने गरी तयारी थालेको भएपनि मन्त्रालयको उच्च श्रोतले बतायो ।
यस अघि सरकारले गत जेठ १५ गते विनियोजन अध्यादेश, २०७८ अनुसार आर्थिक वर्ष २०७८–७९ मा घोषणा गरिएको बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब अन्योलमा पर्दै गएको छ ।
ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई संघीय सरकारले मासिक ८ हजार रुपियाँ र स्थानीय सरकारबाट ७ हजार रुपियाँ थप गरी १५ हजार दिने घोषणा गरेको भए पनि स्थानीय अधिकांश् पालिकाले बेवास्ता गर्दै आएका थिए।
केही पालिकाले सहजै ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई थपिएको तलब प्रदान गरेको भए पनि अधिकांश पालिकाले स्रोत अभाव भएको, सर्वदलीय निर्णयको आवश्यकता पर्ने लगायतका बाहाना गर्दै तलब दिन दिएका थिएनन् ।
यसरी शिक्षक कर्मचारीको तलब अन्योलमा परेको भन्दै ईसीडी शिक्षक कर्मचारीले विभिन्न स्थानीय तहमा केही लामो समयदेखि आन्दोलन समेत गर्दै आएका छन् । केही पालिकाका शिक्षकले आन्दोलनको तयारी गरिरहेको जानकारी दिए ।
नेपाल शिक्षक महासंघले गत वैशाख २० गतेदेखि सञ्चालन गर्दै आएको चरणबद्ध आन्दोलनमा समेत ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबका विषय वस्तु उठान गरिएको भएपनि स्थानीय पालिकाले सम्बोधन नगरेको शिक्षक कर्मचारीको आरोप छ । ‘पालिकाले ईसीडी शिक्षक र विद्यालय कर्मचरीको तलबको दायित्व लिनका लागि विभिन्न वाहाना बनाएको हुनाले हामीले संघीय सरकारले नै यसको दायित्व लिनुपर्छ भन्ने आवाज उठाइरहेका थिए ।’
आर्थिक सर्वेक्षण २०७७–०७८ मा शैक्षिक वर्ष २०७७ मा ३० हजार २ सय २ सामुदायिक र ६ हजार ५१० संस्थागत गरी जम्मा ३६ हजार ७१२ बालविकास केन्द्र तथा पूर्व प्राथमिक कक्षाहरू सञ्चालनमा रहेका छन्।
सर्वेक्षण अनुसार, प्रारम्भिक बालविकासको कुल भर्नादर ८७.६ प्रतिशत पुगेको छ। शैक्षिक वर्ष २०७६ मा कक्षा १ मा भर्ना भएका बालबालिकामध्ये बालविकास केन्द्रको अनुभव लिएका बालवालिकाको संख्या ६८.६ प्रतिशत रहेकोमा शैक्षिक वर्ष २०७७ मा यस्तो संख्या ७०.२ प्रतिशत पुगेको छ।
शिक्षाको आधार स्तम्भ मानिने बालविकासमा अध्ययन गर्न आउने बालबालिकालाई आधार प्रदान गर्ने शिक्षक तथा विद्यालयको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न शिक्षक, कर्मचारीको समस्या समाधान गर्नुपर्मे आवज चारैतिर उठेकोले शिक्षा मन्त्रालयले चासो दिएको बताइन्छ।