शुक्रवार, आश्विन ८ २०७८
न्युयोर्क - डा. गोबिन्द केसी विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी न्यूयोर्कमा आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनमा सहभागिता जनाएका छन् । गत २० र २१ सेप्टेम्बर २०२१ का दिन दिउसो १ बजे देखि ४ बजेसम्म सञ्चालन भएको प्रदर्शनमा डा केसीले सहभागिता जनाएका हुन् ।
२१, सेप्टेम्बर २०२१ विश्व शान्ति दिवसको अवसरमा र संयुक्त राष्ट्र संघको महासभा भएकोले उक्त अवसरमा विश्वको ध्यान पुगोस् भन्दै शान्ति प्रदर्शनमा सहभागिता जनाएका हुन् ।
डा. केसीले देशव्यापी भन्दा माथि उठेर विश्वव्यापी नागरिकको हैसियतले आफूले उठान गरेका मुद्दाहरू नेपालमा मात्र हैन विश्वव्यापी मञ्चमा उठाउनु दायित्व भएको र त्यसलाई मूर्तरूप दिन अमेरिका आएको बताए।
विश्वमा फैलिएको द्वन्द्व, पर्यावरणीय विनाश, सबैका लागि स्वास्थ्य र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले शान्तिपूर्ण प्रदर्शन गर्दै कार्यक्रम सम्पन्न भएको छ ।
त्यसैगरी डा केसी अझ अमेरिकाका विभिन्न राज्यहरूमा नेपाली समुदायले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
प्रदर्शनको मुख्य उद्देश्य विश्वमा फैलिएको हिंसा र युद्धको अन्त्य ,शान्ति ,सद्भाव र समानता ,जलवायु विनाशको रोकथाम र सबैका लागि स्वास्थ्य र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने रहेको डा केसी ले बताए ।