शुक्रवार, आश्विन १५ २०७८
भक्तपुर - राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा १० ले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा समावेश हुन आवेदन फाराम खुला गरेको छ ।
यसैगरी २०७९ सालको नियमित एसईई परीक्षामा सम्मिलित हुनका लागि र खुला तथा अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीले २०७८ सालको नियमित एसईईमा समावेश हुनका लागि रजिष्ट्रेसन फाराम खुला गरेको छ ।
परिक्षा नियन्त्रण कार्यलका अनुसार असोज १५ देखि कात्तिक मसान्तभित्र आवेदन फाराम भर्न सकिने बताइएको छ। एसईईमा आवेदन फाराम भर्न साधारण र प्राविधिक धारतर्फका विद्यार्थीको उमेर १४ वर्ष पूरा भएको अर्थात २०६४ साल चैत मसान्तसम्मको जन्म मिति भएको हुनुपर्ने सूचनामा स्पष्ट गरिएको छ । आवेदन फाराम शुल्क प्रतिविद्यार्थी पाँच सय रुपियाँ कायम गरिएको छ ।
आवेदन फाराम भर्नका लागि रजिष्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, २०७६ साल वा सोभन्दा पहिले निम्न माध्यमिक शिक्षा परीक्षा (कक्षा ८) उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि सम्मिलित गराउनुपर्ने हुन्छ । खुला, वैकल्पिक र अनौपचारिक प्रौढ विद्यालयका विद्यार्थीका हकमा चैत मसान्तभित्र १६ वर्ष पुग्ने उमेर भएको हुनुपर्ने जनाइएको छ ।
त्यस्तै पनिकाले रजिष्ट्रेसन फाराम भर्नका लागि असोज १५ देखि कात्तिक मसान्तसम्मको समयावधि तोकेको छ । रजिष्ट्रेसन फारामका लागि प्रतिविद्यार्थी तीन सय रुपियाँ तोकिएको छ ।

