बुधवार, कार्तिक १० २०७८
मकवानपुर - हेटौंँडा उपमहानगरपालिका भित्र सञ्चालित ९३ विद्यालयले तोकिएको समयभित्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस/IMIS) नबुझाएको कारण बिद्यालय शैक्षिक कार्यक्रम रोकिन सक्ने अवस्था आएको छ।
शिक्षा तथा मानव श्रोत बिकास केन्द्रले बारम्बार सूचना जारी गर्दा समेत बिद्यालयको लापरबाही र अटेरीपनाको कारण यस्तो अवस्था आएको उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले जनाएको छ । उपमहानगर भित्र संचालित ६२ सामुदायिक र ३१ निजी विद्यालयले आइईएमआइएस बुझाएका छैनन् ।
आइईएमआइएस नबुझाएका सम्पूर्ण विद्यालयको कार्यक्रम रोकिने, शिक्षकको तलब, आठ कक्षाको परीक्षा रोकिनाका साथै विद्यालयको संरचना तथा पूर्वाधार विकासमा समेत बाधा पुग्ने भन्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बारम्बार सूचना जारी गरे पनि उक्त विद्यालयले अझै विवरण अद्यावधिक नगराएको शैक्षिक महाशाखा हेटौंँडाले जानकारी दियो ।