बिहिवार, कार्तिक २५ २०७८
सन्धिखर्क : अर्घाखाँचीका एक युवा विद्यार्थीले ब्याक गियर इलेक्टि्रकल बाइक बनाएका छन।
सन्धिखर्क नगरपालिका १ पाणिनी चोक निवासी हाल बुटवलको देवीनगरचोकस्थित नविन औद्योगिक केदारबहादुर रिता सेकेन्डरी हाईस्कुलमा कक्षा १२ मा ओभरसियर अध्यायन गर्ने सागर पोखरेलले ब्याक गियरसहितको इलेक्ट्रीकल बाइक (मोटरसाइकल) बनाएका हुन।
पोखरेलले ७ सय ५० वार्ड क्षमताको मोटर प्रयोग गरी मोटरसाइकल तयार गरेको र आरपिएम ४५० प्रतिमिनेट क्षमताको रहेको बताए ।

बुटवलबाट बिदामा घर आएका पोखरेलले कुनै तालिम बिना नै इलेक्ट्रोनिक बाइक बनाएका हुन्। घरायसी स्तरमा रहेका खेर जाने वस्तुसँगै वजारबाट आवश्यक वस्तु संकलन गरी उनले यस्तो बाइक बनाएको बताए।
यसअघि पनि उनले घरायसी काम नलाग्ने वस्तुको प्रयोग गरी स्काभेटर, फ्रीज, पावर प्लान्ट, भ्याकुम क्लिनर तथा जेसिभीको समेत निमार्ण गरेका थिए।
उनले निर्माण गरेको इलेक्ट्रोनिक बाइको टुडिखेलमा डेमो प्रदर्शन गरिएको छ। एक औपचारिक कार्यक्रमको आयोजना गरी उनले बाइक टुडीखेलमा दौडाएका हुन्। सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले कार्यक्रमको व्यानर अनावरण गरेर उद्धाटन गरे।
कार्यक्रम मा बोल्दै सागरले भने, 'राज्यले यस्ता प्रकारका क्षमतालाई संरक्षण र प्रवद्र्धन गर्ने कार्यमा लाग्ने हो भने हामीले परिकल्पना गरेको शिक्षा प्राप्त गर्न कुनै समय लाग्ने छैन' । उनि भन्छन, सानो उमेरमा कागजका सामाग्री हरु बनाउँथे तर अहिले जीवनमा प्रयोगमा आउने साधन बनाएको छु।'
उनलाई पारिवारको पूर्ण सहयोग छ। कसैबाट सहयोग पाएमा व्यवसायिक रुपमा इलेक्ट्रीकल मोटरसाइकल निर्माण गर्न सकिने उनको भनाई छ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक, जिल्ला शिक्षा समन्यव इकाइका प्रमुख मणिराम पराजुली, सन्धिखर्क १ का वडा अध्यक्ष युवराज बन्जाडे, १२ का वडा अध्यक्ष नारायण खड्का, वडा सचिव अनन्तमणि पोखरेल लगायतको उपस्थितिमा बाइकको डेमो प्रदर्शन गरिएको हो ।