शुक्रवार, मंसिर १७ २०७८
काठमाडौ - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। आज बिहान ९ बजे बोर्ड बैठक बसि नतिजा प्रकाशित गरेकोहो।
गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म कक्षा १२को परीक्षामा मुलुकभरबाट तीन लाख ८६ हजार परीक्षार्थीले आवेदन दिएका थिए ।
विभिन्न कारणले करिब १० हजार विद्यार्थीले परीक्षा नदिएपछि परीक्षामा ३ लाख ७५ हजार विद्यार्थी मात्र सहभागी भएको बोर्डले जानकारी दिएको छ।
नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ४८ हजार २३९ छ ।
यस्तै, ७० हजार एक परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ९९ हजार ५३७ रहेको बोर्डले जनाएको छ । यस्तै ‘सी प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ हजार ८८ छ भने २४ हजार ५१५ जनाले ‘सी’ ग्रेड ल्याएका छन् ।
यस्तै तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् । गएको भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा–१२ को परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।
कोभिड–१९ का कारण परीक्षा दिन नपाएकाहरूले गएको बुधबारदेखि परीक्षा दिएका छन् । कोभिडका कारण परीक्षा दिन छुटेका ४१ विद्यार्थी परीक्षामा सहभागी छन् । ती परीक्षार्थीको परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ ।
नतिजा हेर्न बोर्डको वेबसाईट http://neb.ntc.net.np Type गरि आफ्नो सिम्बोल नंबर डायल गर्न सक्नुहुनेछ। त्यसै गरि आफ्नो मोबाइलमा NEB SYMBOL NUMBER डायल गरि १६०० मा सेण्ड गर्नसक्नुहुने छ।
नतिजा वेबसाईटमा आउन भने केही समय लाग्ने बताइएको छ।