आइतवार, पौष ४ २०७८
म्याग्दी - सामुदायिक विद्यालयको आधारभूत तह १ देखि ५ कक्षामा अध्ययनरत बालबालिकालाई समान पोषणयुक्त दिवा खाजा खुवाउन सरकारले स्थानीय पालिकामार्फत एक विद्यार्थी बराबर १५ रुपैयाँ पठाउने पैसा अभिभावक लाई नगत दिएको पाइएको छ।
म्याग्दीका अधिकांश विद्यालयले विद्यार्थीलाई दिवा खाजा नखुवाएर सरकारले उपलब्ध गराएको रकम अभिभावकलाई नगद नै बाँड्ने गरेको पाइएको हो।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दिवा खाजा व्यवस्थापनमा एकरूपता ल्याउन सहयोगी पुस्तिका तयार पारी ६० थरीका खाजाको मेन्यु बनाएको भए पनि अधिकांश विद्यालयले विद्यार्थीलाई खाजा बनाई खुवाउनुको सट्टा अभिभावकलाई रकम दिएका बताइएको छ।
बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्र कार्कीले भने, ‘विद्यालयमा स्थान अभावले खाजा बनाउन सकेका छैनौं । विद्यालयमा दैनिक हाजिरीका आधारमा अभिभावकलाई नगदै दिने गरेका छौं । अभिभावकलाई जंकफुड नपठाउन भनेका छौं,’ उनले भने ‘अधिकांश विद्यार्थी मजदुरका छोराछोरी छन् । अभिभावकले पनि सजिलोका रूपमा विद्यार्थीलाई पैसा दिएरै पठाउँछन् । स्कुलको कम्पाउन्डमा चाउचाउ, बिस्कुटको पसल छ, त्यही किन्छन् ।’
जंकफुडमा प्रतिबन्ध लगाउँदै स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर पोषणयुक्त खाजा खुवाउनुपर्ने भनिए पनि अभिभावकले भने चाउचाउ, बिस्कुट, पाउरोटी दिएर पठाउँछन् । ग्रामीण भेगका विद्यालयमा भन्दा सदरमुकाम र बजार छेउका विद्यालयमा यो समस्या बढी छ ।
पोषणयुक्त खाना अभावले बालबालिकामा कुपोषण भई पुड्को, अल्पपोषणजस्ता समस्या देखिएपछि संघीय सरकारले विद्यालयमा सबै विद्यार्थीलाई सधैं एउटै गुणस्तरको खाना खुवाउने हुँदा पोषणमा सुधार ल्याउन दिवा खाजा कार्यक्रम लागू गरेको थियो ।
दिवा खाजाले बालबालिकाको उपस्थिति बढ्ने, विद्यालय छोड्ने दर घट्ने र पोषण सुधार भई शैक्षिक सुधार ल्याउने उद्देश्य छ । ‘बेनीभित्रका सबै ५६ विद्यालयमा मापदण्डअनुसार दिवा खाजाको मेन्यु बनाई सोहीअनुसार कार्यान्वयनमा लैजाने तयारीमा छौं,’ बेनी नगर शिक्षा अधिकृत अर्जुन पौडेलले भने, ‘सहरी क्षेत्रमा विद्यालयले खाजा बनाई खुवाउन नमान्ने रहेछन् ।
ज्यादै न्यून संख्यामा विद्यार्थी भएको विद्यालयमा पनि तोकिएको रकममा खाजा बनाउन समस्या हुने रहेछ ।’
अन्नपूर्ण गाउँपालिकाभित्रका केही विद्यालयले दिवा खाजाको मेन्यु तयार पारी कार्यान्वयन पनि गरेका छन ।
अन्नपूर्ण–३ दानास्थित ज्ञानप्रकाश मावि, सरस्वती आधारभूतलगायत दर्जनभन्दा बढी विद्यालयले भने स्थानीय रूपमा उपलब्ध हुने कृषि उत्पादनलाई प्राथमिकतामा राखेर खाजा मेन्यु बनाई कार्यान्वयन गरेको जनाएका छन् ।
‘हामीले बालबालिकालाई आवश्यक पोषकतत्त्व (क्यालोरी, प्रोटिन, चिल्लो) तथा सूक्ष्मतत्त्व (आयोडिन, आइरन, भिटामिन, जिंक) आदि पाइने खाद्यपदार्थ मिलाई दैनिक आलोपालो खाजा बनाउने गरी मेन्यु बनाएका छौं,’ ज्ञानप्रकाश माविका प्रअ सान्तकुमार नेपालीले भने, ‘नुन, चिनी, तेल र मसलाबाहेक स्थानीय कृषि उत्पादनलाई मिलाएर बनाउने हो भने बालबालिकालाई १५ रुपैयाँभित्र राम्रो खाजा बन्ने रहेछ ।’
शिक्षा विकास तथा समन्वय इकाइको अभिलेखअनुसार जिल्लामा प्रारम्भीक बालविकासमा ३ हजार ५ सय ९९ र आधारभूत तहमा १० हजार ८ सय ९६ बालबालिका अध्ययनरत छन् । विद्यार्थीले कम्तीमा १ सय ८० दिन हाजिर भएको प्रमाणका आधारमा स्थानीय पालिकाले सोझै विद्यालयको खातामा बालबालिकाको दिवा खाजाको रकम निकासा दिने व्यवस्था छ ।
‘केही जाँगरिला र जिम्मेवार विद्यालयले बाहेक जिल्लाका अधिकांश विद्यालयले बालबालिकालाई दिवा खाजा बनाएर खुवाउनुको सट्टा अभिभावकलाई नगद नै रकम दिने गरेका छन् । खाजाको पैसा अभिभावकले लैजाने र विद्यार्थी दिनभर भोकै हुने गुनासा पालिकामा सुझाएका छौं,’ शिक्षा तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापा मगरले भने, ‘ज्यादै न्युन विद्यार्थी भएका ठाउँमा विद्यार्थीको खाजा १५ रुपैयाँले बनाउन नसकिने भए अभिभावकसँग थप ५ रुपैयाँ थप्ने र शिक्षकको समेत थप्ने हो भने राम्रो खाजा बन्छ ।’ #कान्तिपुरबाट