सोमवार, पौष ५ २०७८
काठमाडौं - गएको मंसिर महिनामा मात्रै ३६८ जना शिक्षकले राजिनाम दिएको एक तथ्यांक ले बताएको छ।
राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेलले जागिरको अवधि बाँकी छँदै राजीनामा दिने शिक्षकको संख्या धेरै देखिएको बताएका हुन्।
खकुरेलले भने, ‘यो महिनामात्रै ३६८ जनाले शिक्षकले समयावधि छँदै निवृत्तिभरण पत्र लिनुभएको छ । यो धेरै नै हो ।’
मंसिर महिनामा समयावधि बाँकी हुँदै निवृत्तिभरण पत्र लिनेको चाप बढेपछि विश्लेषणको लागि तथ्यांक निकालेको समेत महानिर्देशक खकुरेलले बताए ।
निर्वाचन आयोग तथा सर्वोच्च र पाटन उच्च अदालतको आदेश, शिक्षा निकायको निर्देशन एवं सर्वसाधारणबाट समेत विरोधका कारण समेत सक्रिय राजनीति नै छनोट गर्ने शिक्षकहरूमा नैतिक दबाब बढेको हुनसक्छ।
विभिन्न पार्टीको कार्यसमितिमा रहेका, दरबन्दी मिलान हुँदा अर्को स्थानीय तह वा जिल्लामा खटाइएका, जागिर छाड्दा स्थानीय तहको आकर्षक प्रोत्साहन भत्ता पाउने र आउने निर्वाचनमा भाग लिन चाहेका शिक्षकहरुले निवृत्तिभरण पत्र लिएको राष्ट्रिय किताबखाना (शिक्षक) कार्यलयले जनाएको छ ।
कति शिक्षकले कुन कारणले राजीनामा दिए भन्ने विषयमा भने अहिले नै भन्न नसकिने भएपनी महानिर्देशक खकुरेलका अनुसार मंसिर महिनामा अनिवार्य अवकाश पाउने २६४, मृत्यु हुने १४ र उपदान लिने गरी अवकाश भएका ३४ गरी ६८० शिक्षक पद खाली भएको छ ।
चालु आर्थिक वर्षमा अनिवार्य अवकाश लिनेको संख्या करीब २७ सय रहेकामा साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा मात्रै २ हजार ६० जनाले निवृत्तिभरण पत्र बुझिसकेका छन् ।